जनता टाइम्स

१० मंसिर २०७९, शनिबार १९:११

समानुपातिक मतमै धाँधली भएको संकेतसहित बिशेष सतर्कता अपनाउन नेता–कार्यकर्तालाई ओलीको अपिल


काठमाडौं, मंसिर १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय केहीपार्टीहरुको मत अस्वभाविक देखिएको जनाई समानुपातिक मतगणनामा गम्भीर प्रश्न उठाउँदै बिशेष ध्यान दिन कार्यकर्ता पंक्तिलाई अपिल गर्नुभएको छ ।

अध्यक्ष ओलीले केही पार्टीको मत वृद्धि अस्वाभाविक भइरहेको बताउनु भएको छ । भर्खरै सामाजिक सञ्जालमा लेख्दै ओलीले यस्तो बताउनु भएको हो । ‘सुरू देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ,’ ओलीले भन्नुभएको छ, , ‘एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य पनि हुनसक्छ।’

उहाँले जिल्लामा मतगणनास्थलमा रहेका कार्यकर्ताहरूलाई चनाखो हुन पनि सुझाउनु भएको छ । साथै मतगणनामा प्रतिनिधि रहेकाले मत परिणामको मुचुल्काको प्रति फेसबुकमा म्यासेज गर्न पनि अनुरोध गर्नुभएको छ । ‘मतगणनामा प्रतिनिधि रहनु भएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु,’ ओलीले भन्नुभएको छ ।

यस्तो छ ओलीको अपिल

समानुपातिक मतगणना भइरहेको छ। सुरु देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ। एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता ग़लत कार्य पनि हुनसक्छ। जिल्ला जिल्लामा मतगणनामा रहनु भएका साथीहरू चनाखो रहनुहोस् । मतगणनामा प्रतिनिधि रहनु भएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु।