जनता टाइम्स

११ मंसिर २०७९, आईतवार ०९:२१

प्रत्यक्षमा क्लीनस्वीप भएको दाङमा समानुपातिकमा एमाले पहिलो, कांग्रेस दोस्रो र रास्वपा बन्यो तेस्रो


घोराही, मंसिर ११ । प्रत्यक्षतर्फको निर्वाचनमा जिल्लामै क्लीनस्वीप भएको नेकपा एमाले दाङमा समानुपातिकतर्फ भने पहिलो दल बनेको छ । भर्खरै सम्पन्न मतगणनाअनुसार समानुपातिकतर्फ दाङमा सबैभन्दा धेरै मत नेकपा एमालेले पाएको हो ।

एमालेले कुल ६७ हजार छ सय ५४ मत प्राप्त गरी जिल्लाको ठूलो दल बनेको छ । एमालेले सबैभन्दा धेरै दाङ निर्वाचन क्षेत्र नं. ३ बाट र त्यसपछि क्रमशः २ र १ बाट मत पाएको छ । निर्वाचन क्षेत्र नं. १ बाट १७ हजार नौ सय ६९, क्षेत्र नं. २ बाट २३ हजार पाँच सय ६८ र क्षेत्र नं. ३ बाट २६ हजार एक सय १७ मत प्राप्त गरेको हो । एमालेले दोस्रो दल नेपाली कांग्रेसभन्दा छ हजार चार सय २१ मत धेरै पाएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगको तथ्यांकअनुसार कुल ६१ हजार दुई सय ३३ मत पाएर दाङमा नेपाली कांग्रेस दोस्रो दल बनेको छ । कांग्रेसले पनि सबैभन्दा धेरै मत दाङ निर्वाचन क्षेत्र नं. ३ बाट प्राप्त गरेको छ । यस क्षेत्रमा कांग्रेस नै पहिलो दल बनेको छ । नेकपा एमाले भन्दा चार सय ५८ मत बढी ल्याएर क्षेत्र नं. ३ मा कांग्रेस पहिलो दल बनेको हो । नेपाली कांग्रेसले दाङ निर्वाचन क्षेत्र नं. १ बाट १५ हजार ६७, क्षेत्र नं. २ बाट १९ हजार पाँच सय ९१ र क्षेत्र नं. ३ बाट २६ हजार पाँच सय ७५ मत प्राप्त गरेको छ ।

यसअघि जिल्लाको तेस्रो दल नेकपा माओवादी केन्द्रलाई उछिन्दै यसपालि राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले दाङमा ३९ हजार आठ सय ५३ मत प्राप्त गरेको छ । माओवादी केन्द्रभन्दा छ हजार छ सय ५५ मत धेरै पाएर तेस्रो बनेको हो । रास्वपाले क्षेत्र नं. १ बाट ११ हजार चार सय १०, क्षेत्र नं. २ बाट १३ हजार ३३ र क्षेत्र नं. ३ बाट १५ हजार चार सय १० मत प्राप्त गरेको छ । रास्वपाले पनि क्षेत्र नं. ३ बाटै सबैभन्दा धेरै मत पाएको छ ।

यसैगरी नेकपा माओवादी केन्द्र यसपालि जिल्लाको चौथो दल बनेको छ । कुल ३३ हजार एक सय ९८ मत पाएर माओवादी केन्द्र जिल्लाको चौथो दल बनेको हो । माओवादी केन्द्रले दाङमा सबैभन्दा धेरै मत क्षेत्र नं. १ बाट पाएको छ । निर्वाचन क्षेत्र नं. १ बाट ११ हजार चार सय १०, क्षेत्र नं. २ बाट १० हजार आठ सय २० र क्षेत्र नं. ३ बाट १० हजार नौ सय २६ मत पाएको छ ।

यस्तै क्षेत्र नं. १ बाट सबैभन्दा धेरै मत पाएर नागरिक उन्मुक्ति पार्टी दाङको पाँचौ दल बनेको छ । उसले जिल्लाभर कुल आठ हजार आठ सय ९२ मत पाएकोमा क्षेत्र नं. १ बाट मात्रै सात हजार एक सय ७९ मत पाएको छ । क्षेत्र नं. २ बाट सात सय ७० मत पाएको नागरिक उन्मुक्तिले क्षेत्र नं. ३ मा नौ सय ४३ मत पाएको छ ।

दाङको छैठौं दल राष्ट्रिय प्रजातन्त्र पार्टी बनेको छ । राप्रपाले दाङमा कुल सात हजार छ सय एक मत प्राप्त गरेको छ । क्षेत्र नं. १ बाट एक हजार सात सय ९८, क्षेत्र नं. २ बाट तीन हजार ९५ र क्षेत्र नं. ३ बाट दुई हजार सात सय ८ मत पाएको छ । एमालेबाट एक वर्षअघि छुट्टिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी दाङको सातौं दल बनेको छ । जिल्लाभर कुल चार हजार छ सय ९१ मत पाएर नेकपा एस दाङको सातांै नम्वरको पार्टी बनेको छ । नेकपा एसले क्षेत्र नं. १ मा सबैभन्दा धेरै तीन हजार दुई सय १८ मत पाएको छ भने क्षेत्र नं. २ मा सात सय ८२ र क्षेत्र नं. ३ मा छ सय ९१ मत प्राप्त गरेको छ ।

दाङको आठौं दल राष्ट्रिय जनमोर्चा बनेको छ । कुल दुई हजार तीन सय १४ मत प्राप्त गरेको छ । क्षेत्र नं. १ मा एक हजार छ सय १४, क्षेत्र नं. २ मा तीन सय १२ र क्षेत्र नं. ३ मा तीन सय ८८ मत पाएको छ । यसैगरी कुल एक हजार नौ सय ४० मत प्राप्त गरी मंगोल नेशनल अर्गनाइजेशन जिल्लाको नवौं पार्टी र एक हजार तीन सय २५ मत प्राप्त गरी हाम्रो नेपाली पार्टी दाङको दशौ नम्बरको दल बनेको छ ।

३६ दलले एक हजार पनि पाएनन्

दाङमा यसपटकको निर्वाचनमा समानुपातिकतर्फ सहभागी ४७ दलमध्ये ३६ दलले एक हजार मत पनि पाउन सकेनन् भने ३४ दलले पाँच सय मत पु¥याउन सकेका छैनन् । त्यसैगरी २६ दलले एक सय मत पनि कटाउन सकेनन् भने ५० मत कटाउन नसक्ने दाङमा १९ दल रहे । तीन दलले त १० मत पनि पु¥याउन नसकेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी) ले आठ सय ४४, जसपा नेपालले सात सय १०, जनमत पार्टीले पाँच सय ७३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) ले दुई सय ३४, राष्ट्रिय जनमुक्ति पार्टीले दुई सय २५, एकल चिन्ह बच्चा काखमा लिएकी आमाले एक सय ९१, नेपाली जनता दलले एक सय ७६, नेपाल कम्युनिष्ट पार्टीले एक सय ६६, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल) ले एक सय ३० मत पाएको छ ।

यस्तै लोसपा नेपालले एक सय १७, नेपाल मजदुर किसान पार्टीले एक सय १०, नेपाली कांग्रेस वीपीले एक सय चार मत प्राप्त गरेका छन् । यसैगरी राप्रपा नेपालले ५०, राष्ट्रिय मुक्ति आन्दोलन नेपालले ५५, आमूल परिवर्तन महिसा पार्टी नेपालले ९५, नेश्नलिष्ट पिपल्स पार्टी ४३, जनसमाजवादी पार्टी नेपालले ८८, राष्ट्रिय नागरिक पार्टीले ४०, बहुजन एकता पार्टी नेपालले ३३, नेपालका लागि नेपाली पार्टीले ६६, एकल चिन्ह गितारले ४३, जनजागरण पार्टी नेपालले ४४, नेपाल संघीय समाजवादी पार्टीले २७, तमलोपाले ३३ मत पाएका छन् ।

यसैगरी विवेकशील साझा पार्टीले २९, नेपाल लोकतान्त्रिक पार्टी २१, एकीकृत शक्ति नेपालले ३५, मौलिक जरोकिलो पार्टीले ४२, नेपाल जनता पार्टीले ११, जनता प्रगतिशील पार्टीले १६, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले २२, बहुजन शक्ति पार्टीले नौ, नेपाल कम्युनिष्ट पार्टी परिवर्तनले २०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आठ, नेपाल समावेशी पार्टीले नौ, पिछडावर्ग निषाद दलित जनजाति पार्टीले १३ र मितेरी पार्टी नेपालले २३ मत प्राप्त गरेका छन् । दाङमा प्रतिनिधिसभातर्फ दलहरुले पाएको मत प्रदेशसभातर्फ भने फरक फरक छ ।

प्रदेशसभामा बढी मत

तेस्रो दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभातर्फको उम्मेदवार बहिष्कार गरेका कारण ठूला दलहरुले प्रतिनिधिसभामा पाएको समानुपातिक मतभन्दा प्रदेशसभातर्फको समानुपातिक मत धेरै पाएका छन् ।

६७ हजार छ सय ५४ मत पाएको नेकपा एमालेले प्रदेशसभातर्फ भने ७८ हजार चार सय ५३ मत पाएको छ । यसैगरी नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ समानुपातिक मत ६१ हजार दुई सय ३३ मत पाएकोमा प्रदेशसभातर्फ ६५ हजार सात सय ३७ मत पाएको छ । यस्तै प्रतिनिधिसभातर्फ ३३ हजार एक सय ९८ मत पाएको माओवादी केन्द्रले प्रदेशसभातर्फ ३६ हजार पाँच सय ९४ मत पाएको छ ।

राप्रपाले प्रतिनिधिसभातर्फ सात हजार छ सय एक र प्रदेशसभातर्फ १२ हजार चार सय ८७ मत पाएको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभातर्फ चार हजार छ सय ९१ मत पाएकोमा प्रदेशसभातर्फ सात हजार तीन सय ९२ मत पाएको छ । त्यस्तै राजमोले दुई हजार तीन सय १४ मत पाएकोमा प्रदेशसभातर्फ तीन हजार आठ सय ८२ मत पाएको छ ।