जनता टाइम्स

१३ बैशाख २०८१, बिहीबार १७:२०

डकेन्द्र थेगिमविरुद्धको २ करोड ठगी मुद्दा दबावमा मिलापत्र गराइएको खुलासा, यस्तो छ तथ्य-प्रमाण


पाँचथर, वैशाख १३ । इलाम क्षेत्र नम्बर २ को उप निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका डकेन्द्र सिंह थेगिम विरुद्ध परेको ठगी मुद्दा दवावमा पारी मेलमिलापमा टुङ्ग्याएको रहस्य खुलेको छ ।

उच्च तहबाट दवाव आएर मेलमिलाप गरिए पनि ठगिएकाहरूले अझै सबै पैसा नपाएको गुनासो गरेका छन् । किराँत माइक्रो फाइनान्स स्थापना गर्ने भन्दै डकेन्द्र लगायतको समूहले २०७४ सालदेखि सर्वसाधारणसँग पैसा उठाएका थिए ।

इलाम क्षेत्र नम्बर २ मा पहिचान पक्षधरका साझा उम्मेदवार रहेका डकेन्द्र सहितको समूहले किराँत माइक्रो फाइनान्स खोल्दा संस्थापक सदस्य बनाउने भन्दै उठाएको थियो । रकम उठाउँदा जीवनभर पेन्सन दिन्छौ, बोनस बाँड्छौ र दिएको रकमको डबल बनाइदिन्छौ भन्दै प्रलोभन बाँडिएको थियो ।

रकम उठाएको २ वर्ष बित्दा पनि माइक्रोफाइनान्स स्थापना नभएपछि पीडितहरूले ३ असार २०७६ सालमा इलाका प्रहरी कार्यालय दमकमा ठगी मुद्दामा जाहेरी दिएका थिए ।

डकेन्द्र विरुद्ध पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नं ७ बस्ने जुनु कुमारी माखिम सहितले इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दिएका हुन् ।

जाहेरीमा आफू सहित सर्वसाधारणको १ करोड ५९ लाख ६४ हजार ५ सय रुपैयाँ ठगी भएको उल्लेख छ । जाहेरीमा किराँत माइक्रो फाइनान्सका नाममा सो उठाएको र हिना मिना गरेको आरोप लगाइएको थियो ।

उजुरी पछि प्रहरीले गरेको अनुसन्धानका क्रममा भने थप ४० जनाको थप ४८ लाख ५ हजार रुपैयाँ ठगी भएको खुलेको थियो ।

किराँत माइक्रो फाइनान्स खोल्न भन्दै रकम उठाउनेमा इलाम फाक्फोकथुम गाउँपालिका वडा नं ३ आम चोक घर भई दमक नगरपालिका वडा नं १ हवलदार चोक बस्ने डकेन्द्र सिंह लिम्बु समेत ६ जना रहेको भेटिएको प्रहरीको अनुसन्धानले खुलेको थियो ।

अनुसन्धानका क्रममा ठगी गरेको पाइएपछि प्रहरी पक्राउ अनुमतिका लागि अदालत गएको थियो । झापा जिल्ला अदालतले १६ असार २०७६ मा उनीहरूलाई पक्राउ गर्न अनुमति दिएको थियो ।

अदालतको पक्राउ अनुमति जारी भएसँगै प्रहरीले २७ असार २०७६ मा डकेन्द्र सहित ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूलाई २१ साउन २०७६ सम्म हिरासतमा राखेको थियो । प्रहरीले पक्राउ गरेपछि पीडितसँग भएको छलफलका क्रममा डकेन्द्रले रकम फिर्ता गर्ने कबुलियत नामा गरेका थिए । मिलापत्र गर्न पीडितहरूमाथि दबाब समेत दिइएको पीडितहरूले बताएका छन् ।

दबाब दिँदै रकम फिर्ता गर्ने सहमति जनाए पनि अझै सबै रकम नपाएको पीडितहरूले गुनासो गरेका छन् ।

पीडितले भने, लामो समय भयो केही रकम पायौ अव त पाउने आशा पनि मार्‍यौ । उनले यस विषयमा अव आफूहरू कुनै मुद्दा मामिला र उजुर बाजुरमा नजाने बताए । यो पुरानो कुरा हो मिले जस्तै हो यो विषयमा थप कुरा अगाडि नबढाऔँ ।

प्रहरी श्रोतका अनुसार जाहेरीवाला र प्रतिवादीहरूका बिचमा भएको छलफल पछि २४ साउन २०७६ मा मिलापत्रका लागि संयुक्त निवेदन परेको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जाहेरवाला र प्रतिवादीहरू बिच छलफल हुँदा ठगी भएको रकम पीडितहरूलाई भराई दिने भनी मौखिक सहमति भएको थियो ।

मौखिक सहमतिको जानकारी पछि जिल्ला सरकारी वकिल कार्यालय झापाको सहमति लिई २१ साउन २०७६ मा डकेन्द्र लगायत सबैलाई प्रहरीले हाजिर जमानीमा छाडेको जनाएको छ ।

प्रहरीले रकम फिर्ता गर्ने मौखिक सहमति पछि ५ भदै २०७६ मा मुद्दा नचलाउने गरी जिल्ला सरकारी वकिल कार्यालय झापा समक्ष प्रहरीले प्रतिवेदन पेस गरेको थियो । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले सहमति भएका कारण मुद्यानचलाउने गरिएको प्रतिवेदन बुझाएको बताए ।

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा ७ माघ २०७६ सालमा तत्कालीन महान्यायाधिवक्ता डकेन्द्र लगायतका ठगीमा संलग्न उपर मुद्दा नचलाउने निर्णय गरेको थियो ।

सो निर्णयको पत्र २० माघ २०७६ सालमा जिल्ला सरकारी वकिल कार्यालय झापामा आएको थियो ।