जनता टाइम्स

११ मंसिर २०७९, आईतवार १४:३४

दोलखाको आधा दर्जनबढी स्थानमा बुथ कब्जा भएको प्रमाणित, छानविन टोलीले दियो पुनः मतदान गर्न सुझावसहितको प्रतिवेदन


काठमाडौं, मंसिर ११ । निर्वाचन आयोगको स्थलगत अध्ययन टोलीले दोलखामा मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा आधा दर्जनभन्दा बढी स्थानमा बुथ कब्जा गरेर मतदान गरिएको र धेरै मतदान केन्द्र अशान्त बनाइएको ठहर गरेको छ ।

आयोगबाट खटिएको टोलीले प्राप्त प्रमाणको आधारमा बुथ कब्जा भएको तथ्यसहितको प्रतिवेदन आयोगमा पेश गरेको हो । आयोगका टोलीका अनुसार मतदानको दिन वैत्यश्वरको गैरिमुदी र नाम्दु, तामाकोशीका जफे र मालु, गौरीशंकरको जुँगु तथा मेलुङको भेड्पु तथा कालिञ्चोक र शैलुङका गरी आधा दर्जन स्थानमा बुथ नियन्त्रणमा लिइएको पाइएको छ । ती सबै बुथमा सत्ता गठबन्धनका कार्यकर्ताले कब्जा गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा जनाइएअनुसार कतिपय बुथमा कर्मचारी र प्रहरीमाथि समेत कुटपिट गरेको पाइएको छ । मतदानका लागि सहयोग गर्न खटिएका कर्मचारीदेखि प्रहरीले समेत बुथ कब्जा भएको बयान आयोगसमक्ष दिएका छन । प्रतिवेदनमा दोलखाका प्रमुख जिल्ला अधिकारी नै बुथ कब्जाको सहयोगी बनेको समेत उल्लेख छ । आयोगको टोलीले स्थलगत अध्ययन तथा सबै पक्षसँगको बयानपछि प्रतिवेदन तयार पारेको हो ।

यस्तै जिरी नगरपालिकाको ठूलोपातालमा फर्जी मत खसाइएको पाइएको छ । कतिपय मतदान केन्द्रमा अर्को पक्षले बुथ कब्जा रोक्न प्रयास गर्दा मतपेटिकाहरु फुटेको,प्रदेश संघ र समानुपातिक तथा प्रत्यक्षका मतपत्ररु मिसिएको र मतपत्र मतपेटिकाबाट पोखिएको फोटो तथा भिडिओहरु समेत संकलन गरिएको छ ।

बुथ कब्जाका फोटो तथा भिडिओहरु पनि आयोगले संकलन गरेको छ भने मुठाका मुठा मतपत्र नियन्त्रणमा लिएर निर्वाचन अधिकृतको हस्ताक्षर समेत दलका कार्यकर्ताले गर्दै छाप लगाएको पाइएको छ ।

आयोगले संकलन गरेको एउटा भिडिओमा बैत्यश्वर गाउँपालिका वडा नम्बर ६ को नाम्दु बुथमा मतपत्रको बिटो नै लुटेर गठबन्धनका कार्यकर्ताले एक अर्काबीच जयनेपालको अभिवादन साटासाट गर्दै छाप लगाइएको देखिन्छ । त्यस्तै जुगु बुथमा जहाँ गठबन्धनका उम्मेदवार गंगा कार्की छन्,त्यहाँ एकजना बृद्धले आफ्नो मतपत्र गठबन्धनका कार्यकर्ताले खोसेर छाप लगाउन खोजेपछि च्यातेको दृष्य समेत भेटिएको छ ।

गठबन्धनका प्रदेश सभाका उम्मेदवार कुन्दन काफ्लेले ४ वटा गाडीमा हतियारसहितका युवा लिएर जफेको जामुने,स्वास्थ्य चौकी,झुले,मालु लगायतका बुथमा गएर विपक्षी कार्यकर्ता लखेटेर एकलौटी मतदान गरेको पाइएको छ ।

दोलखाको गैरीमुदी,जुगु,झुले,जफे लगायतका मतदान केन्द्रमा कुनै पनि चुनावमा मतदाताले निर्भयसाथ मतदान गर्न नपाएको निश्कर्ष पनि टोलीको छ ।