जनता टाइम्स

२३ श्रावण २०७६, बिहीबार ०९:२५

निजगढमा सानदार विमानस्थल बनाइने पर्यटनमन्त्री भट्टराईको घोषणा, यसैवर्ष शिलान्यासको तयारी


काठमाडौं, साउन २३

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास यसै वर्ष गर्ने तयारी भएको जानकारी दिनुभएको छ । बुधबार मन्त्रालयमा पत्रकारसँगको छलफल कार्यक्रममा सन् २०१९ भित्रै कम्तीमा शिलान्यास गरिसक्ने उहाँले बताउनुभयो । सन् १९८५ देखि नै निजगढमा विमानस्थल निर्माण गर्ने चर्चा चले पनि काम हुन नसकेकाले अब भने यसको विकल्प नखोजिने उहाँको भनाइ थियो ।

“फास्ट ट्र्याक बनेपछि एक घन्टामै पुग्न सकिने भएकाले निजगढ एक किसिमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै हो,” उहाँले भन्नुभयो, “हामी निजगढको विकल्प खोज्दैनौँ । ” विमानस्थल निर्माणका लागि टाँगिया बस्ती व्यवस्थापन प्रक्रिया तत्काल अगाडि बढाउने पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार त्यहाँका स्थानीयलाई मुआब्जा दिएर अथवा स्थानीय सरकारसँगको साझेदारीमा बस्ती स्थानान्तरणको काम हुनेछ ।

“हामी त्यहाँका स्थानीयलाई नाङ्गो खुट्टा पठाउँदैनौँ,” उहाँले भन्नुभयो, “स्थानीयको सम्मानजनक व्यवस्थापन हुन्छ । ” कार्यक्रममा उहाँले आफू वातावरण विनाश र विध्वंस गर्न नआएको स्पष्ट पार्नुभयो । “म निजगढमा विश्वकै सानदार विमानस्थल बनाउन आएको हुँ,” उहाँले भन्नुभयो । निजगढमा रूख कटानका विषयमा व्यक्त भएका चासोलाई समेत सम्बोधन गरेर अगाडि बढ्ने उहाँले बताउनुभयो ।

निजगढमा विमानस्थल निर्माणका लागि कटान गर्नुपर्ने रूखको सम्बन्धमा अहिलेसम्म यकिन नभइसकेकाले यस विषयमा वन तथा वातावरण मन्त्रालयसँग सहकार्य गर्ने उहाँले बताउनुभयो । विमानस्थल निर्माणका सन्दर्भमा उठेका विषयलाई सम्बोधन गर्न आफूले प्रधानमन्त्रीसँग कुराकानी गरेर सर्वदलीय बैठकसमेत गर्न लागेको उहाँले जानकारी दिनुभयो । निजगढका सम्बन्धमा अब अध्ययन गर्नुपर्ने खास विषय नभएकाले यसको निर्माणको तयारीको काम अगाडि बढाइने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा मन्त्री भट्टराईले नेपाल वायुसेवा निगमको सुधारका लागि आफू दृढ रहेको भनाइ राख्नुभयो । “मन्त्रालय सम्हालेको एक हप्तामा मैले हरेक दिनजसो निगमका पदाधिकारीसँग छलफल गरिरहेको छु,” उहाँले भन्नुभयो । आफूले निगमलाई ‘वाह’ निगम भन्ने बनाउने विषय केवल बोल्नका लागि नभएर गर्नकै लागि भनेकोसमेत उहाँले स्पष्ट पार्नुभयो । त्यस्तै उहाँले भैरहवा र पोखरामा निर्माणाधीन विमानस्थलको सञ्चालन लक्ष्य तोकिएको समयभित्रै पूरा हुने विश्वास रहेको पनि बताउनुभयो ।

निगम सुधार्न कार्यदल

कार्यक्रममा मन्त्री भट्टराईले वायुसेवा निगमको समग्र सुधारका लागि बुधबार नै पाँच सदस्यीय समिति गठन गरेको जानकारी दिनुभयो । समितिले निगमको अहिलेको विद्यमान आर्थिक अवस्थाका बारेमा जानकारीसहित सुधारका लागि आवश्यक सुझाव मन्त्रालयलाई उपलब्ध गराउनेछ । “निगमका खास समस्या के हुन्, त्यो समितिले तोकेरै दिनेछ,” मन्त्री भट्टराईले भन्नुभयो ।

पूर्वसचिव सुशील घिमिरेको संयोजकत्वमा गठन भएको उक्त समितिमा प्रमोद कर्ण, डिमप्रसाद पौडेल, सुधीरशमशेर राई सदस्य हुनुहुन्छ । मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने कार्यदलको सदस्य हुनुहुन्छ । कार्यदललाई सुझाव पेस गर्न एक महिनाको समय दिइएको मन्त्री भट्टराईले जानकारी दिनुभयो । (गोरखापत्र)