जनता टाइम्स

२३ श्रावण २०७६, बिहीबार १०:१२

तीन साता लामो थाइल्याण्ड सयरमा निस्कदै ज्ञानेन्द्र


काठमाडौं, साउन २३

पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड जानुहुने भएको छ । देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राख्दै आउनुभएका पूर्वराजा ज्ञानेन्द्र निजी सचिव सागर तिमल्सिनाका साथ भोलि साउन २४ गते शुक्रबार थाइल्याण्डको बैङ्कक जान लाग्नुभएको हो ।

उहाँको यो भ्रमण पारिवारिक रहेको निर्मल निवास स्रोतले जनाएको छ । उहाँ त्यहाँ पुगेको केही दिनपछि पूर्वरानी कोमल पनि थाइल्याण्ड जाने हुनुभएको छ । पूर्वयुवराज्ञी हिमानी शाह बुधबार दुई छोरी पूर्णिका र कीर्तिकासँगै थाइल्याण्ड जानुभएको छ । अधिकांस भ्रमणमा पूर्वराजा ज्ञानेन्द्र, कोमल र हिमानी सँगसँगै निस्कने गर्नुभएको छ ।

दशैँको केही दिनअघि मात्र फर्कने गरी पूर्वराजाको परिवार थाइल्याण्ड जान लागेको हो । करिब तीन साता लामो भ्रमणको मिति तय गरी थाइल्याण्ड जान लाग्नुभएका ज्ञानेन्द्र थाइल्याण्डलाई ट्रान्जिट बनाएर विभिन्न मुलुक भ्रमण गर्ने तयारी गर्नुभएको छ । उच्चस्रोतका अनुसार पछिल्लो समय ज्ञानेन्द्रको अधिकांस भ्रमण थाइल्याण्ड मात्र हुने गरेको छ । ‘नेपालबाट अन्य मुलुक जाँदा हल्ला हुने भएकाले नातिनीहरूको पढाइको अवस्थाबारे जानकारी लिन भन्दै थाइल्याण्ड जाने गर्नुभएको छ’–स्रोतले नेपाल समाचारपत्रसँँग भन्यो ।

पूर्वराजा ज्ञानेन्द्र वर्षमा दुई पटकभन्दा बढी थाइल्याड जाने गर्नुहुन्छ । उहाँ यसपालि अपार्टमेन्टमा बस्नेगरी थाइल्याण्ड जान लाग्नुभएको हो । पूर्वराजा ज्ञानेन्द्र गत वर्ष पनि दशैँअघि थाइल्याण्ड जानुभएको थियो । नेपाल रहँदा पनि गत वर्ष पूर्व, तराई, पश्चिम, मध्यपश्चिम, सुदुरपश्चिम र मध्यमाञ्चलका विभिन्न जिल्ला भ्रमण गरी स्थानीय राजवादीहरूसँग भेट गर्नुभएको थियो ।

भ्रमणमा निजी सुरक्षाकर्मी सशस्त्रका डिएसपी र केही कामदारबाहेक अरुलाई सहभागी गराइने छैन । लामो समयदेखि हिमानी सँगसँगै नबसेका पूर्व युवराज पारस भने नेपालमै रहनुहुनेछ । त्यहाँबाट फर्केपछि उहाँ नेपालमै रहँदै आउनुभएको छ । पूर्वयुवराज्ञी हिमानी भने तीन वर्ष अघिदेखि दुई छोरीको उच्च शिक्षा अध्ययन गराउन अधिकांस समय थाइल्याडमै बस्ने गर्नुभएको छ । (समाचारपत्र)