जनता टाइम्स

१२ मंसिर २०७९, सोमबार १४:१५

महिला हिंसाविरूद्धको १६ दिने अभियान : सप्तरीमा दुई महिलाको हत्या


सप्तरी, १२ मंसिर । लैंगिक हिंसाविरूद्ध १६ दिने अभियान सुरू भएको पहिलो दिन नै सप्तरीमा दुई जना महिलाको हत्या भएको छ । बोदेबर्साइ नगरपालिका बनौला घर भई राजविराज नगरपालिका–१ बस्दै आएकी ३५ वर्षीया गीता देवी रजक शनिवार मृत अवस्थामा भेटिनुभएको थियो । बिहान घर नजिकै रहेको टिनको छाप्रोमा उहाँको शब हत्या भएको अवस्थामा भेटिएको स्थानीयले बताएका छन् ।

उहाँ बनौलाका हिरालाल रजककी तेस्री श्रीमती बनेर १५ वर्षअघि भित्रिनुभएको थियो । तीन छोरी र एक छोराकी आमा गीतालाई उहाँकै श्रीमानले हत्या गरेका आरोप छ । दुई महिनायता उहाँका श्रीमानले कुटपिट गरि घरबाट निकाला गरेका थिए । शुक्रबार दिनभर सँगैको खेतमा धान काट्नुभएको स्थानीय १७ वर्षीया कन्चन रजकका अनुसार बेलुका ५–६ बजेसम्म सकुसल नै हुनुहुन्थ्यो ।

‘मैले गीतालाई घर जाउँ भन्दा धान ओसार्नु छ । नओसारे श्रीमानले कुट्नुहुन्छ भनेकी थिइन । बिहान त शब देखे ।’ निर्वाचनको भोलिपल्ट सोमबार श्रीमानले कुटे भन्दै गीताले हात, खुट्टा र टाउको चो देखाएको उहाँको भनाइ छ । उहाँले भन्नुभएको थियो,‘श्रीमान्ले मराणसन्न हुने गरि कुन्छन् । घर निकाला गरेका छन् । डरले राति घर जान पनि सकेकी छैन ।’ उहाँको परिवार राजविराज नगरपालिका–१ चनौरामा कोठामा भाडा लिएर बस्दै आएको छ ।

उहाँका श्रीमान दुई वर्षअघि वैदेशिक रोजगारीमा जानुभएको थियो । डेढ वर्षसम्म पैसा पनि पठाउनुभएको थियो । श्रीमान घर फर्केको दुई महिनापछि नै कुटपिट गर्दै आएको उहाँले बताउनुभएको थियो । गाउँकै एउटी महिलासँग आफ्नो श्रीमानको सम्बन्ध रहेको गीताले बताउनुभएको थियो । तिनै महिलासँगको सम्बन्धका कुटिपट घरनिकाल गरेको उहाँ दुखेसो गर्नुहुन्थ्यो ।

आरोपी रजक पक्राउ

श्रीमती हत्या आरोपमा हिरालाल रजकलाई प्रहरीले शनिवार नै पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले मृतकका श्रीमानलाई पक्राउ गरि बयान लिएको छ ।

मन्जुलाको शव काका ससुराको घरमा भेटियो

रुपनी गाउँपालिका–२ लौवापारकी २० वर्षीया मन्जुला सदाको शुक्रवार बेलुकी काका ससुराको घरमा झुण्डिएको अवस्थामा शव फेला पर्यो । उहाँ आठ महिनाको गर्भवती हुनुहुन्थ्यो । बिहेको भएको पाँच वर्षपछि पहिलो सन्तान पाउन लाग्नुभएको थियो । उहाँको दिदी उषाले भन्नुभयो, ‘उनकै परिवारले बैनीलाई झुन्ड्याएर मारे ।’ मृतककी आमा फुलोदेवीले ज्वाई भारत गएको बेला छोरीलाई सासुससुराले रक्सी खाएर कुटपिट गर्ने गरेको बताउनुभयो ।

कति पटक त छोरीलाई उद्धार गरेर ल्याएको उहाँको भनाइ छ । दुई दिनअघि पनि ससुरा रामकण्ठ सदाले कुटेर घरबाट निकालेको र नजिकैका काका ससुरा श्रीकान्त सदाको घरमा लुकेर बसेको काकी सासूले फोनमा बताएको फूलोदेवीले बताउनुभयो । खाना नपकाएको निहुँमा झुण्ड्याएर मारेको आरोप छ । शुक्रबार बेलुकी छोरीलाई पूmलोदेवी जाँदा झुण्ड्याइएको अवस्था शव फेला परेको थियो ।

सासुसहित चारजनालाई प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता सिंहले घटनाको अनुसन्धान भइरहेको बताउनुभयो । पोष्टमार्टम रिपोर्ट आएपछि थप प्रक्रिया अगाडि बढ्ने उहाँले बताउनुभयो ।