जनता टाइम्स

१३ मंसिर २०७९, मंगलवार १२:२१

सीके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय दल बन्दा माधवको नेकपा एसलाई निकै मुस्किल (मतसहित)


काठमाडौं, मंसिर १३ । तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिको मुलधारमा ल्याएपछि जन्मिएको सीके राउत नेतृत्वको जनमत पार्टीले थ्रेसहोल्ड कटाउने निश्चित भएको छ । ९७ लाख १६ हजार ८६२ मत गन्दा जनमत पार्टीले ३ लाख १८ हजार ३६८ मत ल्याएर राष्ट्रिय पार्टी बन्ने निश्चित भएको हो ।

पछिल्लो मतपरिणामअनुसार २६ लाख २१ हजार ६२६ मतसहित नेकपा एमालेले अग्रता कायमै राखेको छ भने २४ लाख ७८ हजार ३४१ मत ल्याएर कांग्रेसले पछ्याइरहेको छ ।

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख २१ हजार ७७९, चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ८२ हजार ७२२, पाँचौ स्थानमा रहेको राप्रपाको ५ लाख ५६ हजार २७ र छैटौं स्थानमा रहेको जसपाको ३ लाख ६८ हजार ४९८ मत रहेको छ ।

यस्तै, आठौं स्थानमा रहेको जनमत पार्टीले थ्रेसहोल्ड कटाउँदै गर्दा पूर्वप्रधानमन्त्री माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई भने निकै मुस्किल परेको छ । नेकपा एकीकृत समाजवादीले २ लाख ७१ हजार ५२० मत ल्याएको छ ।

समानुपातिकमा थ्रेसहोल्ड नपुग्ने देखिएपछि प्रत्यक्षमा १० सीट जिते पनि नेकपा एस राष्ट्रिय दल बन्न हम्मेहम्मे गरेको छ । प्रत्यक्षतर्फ कम्तीमा एक सीट जितेर समानुपातिकतर्फ खसेको मतको तीन प्रतिशत कटाएपछि मात्रै राष्ट्रिय दल बन पाउने कानूनी व्यवस्था छ ।