जनता टाइम्स

१३ मंसिर २०७९, मंगलवार १२:२६

यी हुन् यसपटक संसद् छिर्ने ठेकेदार सांसद, नीति-निर्माण तहमा व्यवसायीको वर्चस्व हुँदा स्वार्थ बाझिने खतरा बढी


काठमाडौं, १३ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबाट डाक्टरदेखि ठेकेदारसम्म निर्वाचित भएका छन् । देशभरका एक सय ६५ निर्वाचन क्षेत्रबाट थुप्रैजना उद्योगी व्यवसायीले प्रत्यक्षमै चुनाव जितेका हुन् । पछिल्लो समय निर्वाचन प्रणाली महंगो भएको आवाज उठिरहेका बेला धेरै रकम खर्चेर थुप्रै उद्योगी व्यवसायीले चुनाव जितेका छन् । राज्यको नीति निर्माण तहमा रहेर काम गर्ने पदमा व्यवसायीको वर्चस्व हुँदा स्वार्थ बाझिने खतरा बढी हुने गर्दछ ।

आफ्नो स्वार्थ बाझिने क्षेत्रमा उनीहरूको निश्चित रूपमा पनि दबाब र प्रभाव रहन्छ नै । यसपटकको निर्वाचनमा विभिन्न दलबाट टिकट पाएका ६ जना निर्माण व्यवसायीले चुनाव जितेका छन् । ठेकेदार सांसदमध्ये एक हुन्, नेपाली कांग्रेसका विष्णुकुमार कार्की । उहाँले नवलपरासी बर्दघाट सुस्ता पूर्व–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । क्रसर व्यवसायी रहेका कार्कीले नेकपा एमालेका तिलक महतलाई पराजित गर्नुभएको थियो ।

अर्का ठेकदार सांसद हुन् धनबहादुर बुढा । उहाँ डोल्पामा एकीकृत समाजवादीबाट निर्वाचित हुनुभएको छ । हिमाली निर्माण सेवाका सञ्चालक रहेका सांसद बुढाले एमालेका गणेशबहादुर शाहीलाई पराजित गर्नुभएको हो ।

रामेछापबाट प्रतिनिधिसभा सदस्य पदमा विजयी बनेका कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) पनि निर्माण व्यवसायी हो । उहाँले सञ्चालन गरिरहेको कान्छाराम कन्स्ट्रक्सन नेपालको ‘क’ वर्गको ठेकेदार कम्पनी हो । कान्छारामले एमालेका कैलाशप्रसाद ढुंगेललाई हराउनुभएको थियो ।

रसुवाबाट प्रतिनिधिसभा सदस्य पदमा कांग्रेसका मोहन आचार्य निर्वाचित हुनुभएको छ । उहाँ निर्माण व्यवसायी हो । आचार्य दोस्रोपटक निर्वाचित हुनुभएको हो । उहाँले एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङलाई हराउनुभएको थियो । सांसद आचार्यले रसुवा कन्स्ट्रक्सन नामको निर्माण कम्पनी चलाइरहनुभएको छ । जुन नेपालको ‘क’ वर्गमा पर्ने निर्माण कम्पनी हो ।

दाङ–३ बाट निर्वाचित कांग्रेसका दीपक गिरी क्रसर व्यवसायमा संलग्न हुनुहुन्छ । गिरीकी श्रीमती सञ्चालक रहेको ओम नमः शिवाय र स्वर्गद्वारी क्रसरमा उहाँ साझेदारका रूपमा संलग्न हुनुहुन्छ । उहाँले एमालेकी उम्मेदवार कोमल वलीलाई हराउनुभएको थियो ।

यस्तै चितवन ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्माण व्यवसायी विक्रम पाण्डे निर्वाचित हुनुभएको हो ।  उहाँको कालिका कन्स्ट्रक्सन पनि नेपालको ‘क’ वर्गको ठेकदार कम्पनी हो । पाण्डेले पछिल्लो समयमा यात्री मोटरसाइकलदेखि विभिन्न इनोभेसन र स्टार्टअप बिजनेसमा पनि लगानी थाल्नुभएको छ ।