जनता टाइम्स

१३ मंसिर २०७९, मंगलवार १८:०८

विजय गच्छद्धारलाई हारको स्वाद चखाउँदै सुनसरी-३ बाट एमाले नेतृ भगवती चौधरीको सानदार जीत


सुुनसरी, १३ मंसिर । सुनसरी क्षेत्र नम्बर ३ मा काँग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरीले दुई पटकसम्मको पराजयको बदला लिनुभएको छ ।

०४८ सालदेखि लगातार सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका गच्छदार सातौँ पटक जितेर रेकर्ड राख्न चाहन्थे । तर, त्यसमा बाधक बन्नुभएको छ भगवती चौधरी ।

गच्छदार छैटौँ पटकसम्म अपराजित रहँदा चौधरीले यस पटक गच्छदारको जितमा ब्रेक लगाउनुभएको छ । काँग्रेस नेता विजय गच्छदार आम मतदातासँग न्यायको माग गरिरहनु भएको थियो। उहाँले न्याय माग्नुको मुख्य मुद्दा हो ललिता निवास जग्गा घोटाला प्रकरण ।

उहाँलाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७६ साल माघमा ९ करोड ६८ लाख बिगोसहित भ्रष्टाचार मुद्दा लगाएको छ । उक्त मुद्दा अन्यायपूर्ण भएकोले न्याय दिनुपर्ने उहाँको मूल मुद्दा थियो । तर, जनताले गच्छदारलाई न्याय होइन ‘सजाय’ दिएका छन् ।

०४८ सालदेखि नै सो क्षेत्रबाट निर्वाचन लड्दै आएका गच्छदार हालसम्म अपराजित हुनुहुन्थ्यो । गच्छदारलाई १० वर्षयता लगातार टक्कर दिइरहेकी भगवती चौधरी भने ३१ वर्षमा नभएको विकास आफूले जिते ५ वर्षमै गर्ने बताउँदै निर्वाचन जित्नुभएको छ ।