जनता टाइम्स

१३ मंसिर २०७९, मंगलवार १९:१७

दोलखाका यी दुई कर्मचारीले गराए सिंगै राष्ट्रसेवकको बदनाम, यसरी गराएका थिए आफै बुथकब्जा


दोलखा, मंसिर १३ ।  बुथकब्जाको सधैँ ‘इपिसेन्टर’ मानिएका बैत्यश्वर गाउँपालिकाको बुथहरुमा निर्वाचन अधिकृतहरुको घृणित रबैया सर्वजनिक भैरहेको भिडियो फुटेजहरुबाट देख्न सकिन्छ ।

गठबन्धन दलका सच्चा कार्यकर्ता भएबापत खटिएका कर्मचारीहरुको रबैयाले बुथहरु कब्जा भएका, मतदाता लखेटिएका, मतपत्र फालाफाल भएका घृणित दृष्यहरु क्रमशः सार्वजनिक भैरहेका छन् । तिनै दृष्य र अन्य प्रमाणका आधारमा दोलखामा १३ स्थानमध्ये चार स्थानका चार स्थानका मतदान रद्द गर्न निर्वाचन आयोगसमेत बाध्य भयो ।

सबैभन्दा घिनलाग्दो निर्वाचन भएका वैैत्यश्वर गाउँपालिका– ६ नाम्दूको निर्वाचनमा खटिएका पवन फुयाँल जसको सेटिङमा बुथ कब्जाका षड्यन्त्र सफल भएको यावत प्रमाणहरुबाट खुल्छ । उनी तामाकोसी गाउँपालिकाका सूचना प्रविधि अधिकृत हुन् । करारका यी कर्मचारी माओवादी कार्यकर्ता भएबापत गैरकानुनी ढंगबाट करारकै भए पनि मतदान अधिकृत नियुक्त भए ।

अर्को अनौठो कुरा मतदानमा खट्ने कर्मचारीको सूचीमा नपरेका पवन फुयाँल पछिल्लो सूचीमा पारिए । स्थायी कर्मचारीहरु दुर्गममा परेको गुनासो आइरहेका बेला फुयाँल अरनिको राजमार्गसँग जोडिएको नाम्दूस्थित वैैत्यश्वर माविमा पारिए ।

आखिर तिनै फुयाँलका प्रपञ्चमा गठबन्धनका कर्मचारीलाई सही गर्दै मतपत्र दिँदै गरेको दृष्य बाहिर आएको छ । भिडियो फुटेजमा देखिएअनुसार उनले एकजना बुथकब्जा गर्ने युवालाई मतपत्र बाँड्न दिन्छन् । एकै जनाले पुरै मतपत्रका प्याडमा रुखमा छाप लगाउँछन् । अनि जय नेपाल भन्दै दुईचार जनाले भोट हाल्छन् ।

त्यो घटनाबाट असह्य भएका एकजनाले मतपेटिका फाल्छन् । खटिएका प्रहरीको इन्चार्ज सइ सहितले सिल फुटेको त्यही मतपेटिका ल्याएर फेरि चुनाव गराउँछन् । त्यो घटनाले एकजना वयोवृद्धलाई झोक चल्छ र उनी गएर फेरि अर्को मतपेटिका फुटाउँछन् । तब पनि मतदान रद्द हुँदैन । फेरि अर्को युवा जान्छ र मतपेटिकामा पानी खन्याउछ । त्यो गर्दा पनि फुयाँल र प्रहरीका सइको मिलोमतोमा गठबन्धनका रोहवरमा मतपेटिका बन्द गरिन्छ र चुनाव शान्तिपूर्ण हुन्छ ।

यस्ता रबैयाका दृष्यहरु दिउँसैदेखि जिल्लास्थित मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सेना, प्रहरी प्रमुखहरु मतपत्र भँुइमा छताछुल्ल भएका दृष्यहरु हात पर्छ । नाटकीय ढंगबाट प्रजिअले रिपोर्ट लिन्छन् । मतदान अधिकृत राम्रो छ भनिदिन्छन । जनपद प्रहरी प्रमुखले रिपोर्ट लिन्छन र माथि जाहेर गर्छन, त्यहाँ ठीक छ भन्छन् ।

यी सबै घटनाक्रमबारे सुरक्षाकर्मी मुकदर्शक बनेर बस्यो । जब प्रहरी मुकदर्शक बनेर बस्यो त्यसपछि त्यहाँ रहेका मतदाता तथा राजनीतिक दलका प्रतिनिधिबिच विवाद सिर्जना भयो । यति हुँदा पनि प्रहरी चुप लागिरह्यो । त्यसपछि मतदान केन्द्रभित्र भएका सबैजसो मान्छेहरुले हस्ताक्षर भएको मतपत्रको बुक नै बोकेर गोप्य मतदान केन्द्रमा जाने र आफूलाई मन लागेको उम्मेद्वारको चिह्नमा मत हाल्न लागे । यति भईरहँदा पनि त्यहाँका मतदान अधिकृत पवनराज फुयाँल मतपत्रमा हस्ताक्षर गर्दै मतपत्र दिईरहे ।

नेकपा एमालेका कार्यवाहक अध्यक्ष राजेन्द्र मानन्धरले यसरी बुथकब्जा हुनेवित्तिकै नाम्दूको भिडियो फुटेजहरु आफँैले मुख्य निर्वाचन अधिकृत र भिडियो फुटेजहरु सम्प्रेषण गरेको बताउँछन् । त्यहाँको अवस्थाबारे बारम्बार भनिए पनि निर्वाचन नरोकिएको उनले जानकारी दिए । भिडियो फुटेज र अन्य गैरकानुनी घटनाहरुको तथ्य प्रमाणका आधारमा निर्वाचन आयोगले उक्त स्थानको मतदान वदर गरेको छ ।

को हुन पवन फुयाँल ?

यतिविध्न घटना भईरहुञ्जेल मतदान अधिकृत चुप बस्नुमा उनी आफैँ सत्तारुढ गठबन्धन नेकपा माओवादी निकटका कर्मचारी हुन् । तसर्थ उनी आफ्नो पहुँच पुर्याएर मतदान अधिकृत बनेर त्यहाँ पुगेका थिए । मुख्य निर्वाच अधिकृतको कार्यालयले कर्मचारी खटनपटन गर्दा पहिलो र दोश्रो लिष्टमा नपरेका करार कर्मचारी फुयाँल तेश्रो लिष्टमा आफ्नो पहुँच देखाएर मतदान अधिकृत बनेका हुन् ।

तामाकोशी गाउँपालिकाको सूचना प्रविधि अधिकृतको रुपमा करारमा जागिर खाईरहेका फुयाँल आफू माओवादी केन्द्रको कार्यकर्ता भएकै कारण पटक–पटक एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेताहरुको विरुद्धमा सामाजिक सञ्जालमै आफ्नो अभिव्यक्ति दिँदै आएका थिए । अन्तिममा मतदान अधिकृतको जिम्मेवारी पाएर पनि सुविधा सम्पन्न हाईवे रहेको मतदानस्थलमा फुयाँलले जिम्मेवारी पाउनुमा उनी बुथ कब्जा गर्ने योजनाका साथ नाम्दु गएको पुष्टी हुन्छ ।

धेरै प्याड मतपत्र हराउनु, जताततै फ्याँकेर हिँड्नु र अन्ततः कति मत खस्यो भन्ने एकिन विवरण दिन नसक्नुबाट पनि बैतेश्वर मावि मतदानस्थलको निर्वाचन कतिसम्म अव्यवस्थित र लज्जास्पद किसिमको थियो भन्ने प्रष्ट हुन्छ । यससँग सम्बन्धित विभिन्न भिडियो सामाग्री सामाजिक सञ्जालमा छ्यापछ्याप्ती सार्वजनिक भएका छन् ।

बैत्यश्वर– २ पुतलीकाठ बुथका अधिकृतको बदमासी

बैतेश्वर गाउँपालिका वडा नम्बर २ मा रहेको जनज्योति माध्यमिक विद्यालय पुतलीकाठ मतदानस्थलमा २ वटा मतदान केन्द्र रहेका छन् । यस मतदानस्थलमा निर्वाचन आयोगले तोकेकै समयमा विहानदेखि मतदान भईरहेको थियो । मतदान शुरु भएको केहि घण्टापछि नेपाली काङ्ग्रेसका स्थानीय नेता तथा निर्वाचित वडा अध्यक्ष श्याम तामाङले मतदातालाई आतङ्कित पार्ने केही गतिविधिको सुरुवात गरे । एकछिन माहौल बिग्रिएला जस्तो भयो । तर सबै राजनीतिक दलका प्रतिनिधिहरु बसेर पुनः शान्तिपूर्ण रुपमा मतदान कार्यलाई निरन्तरता दिईयो ।

अन्दाजी विहान ११ बजेतिर मतदान केन्द्र ‘क’ का मतदान अधिकृत पुजन प्रसाद अधिकारीले कोही पनि मतदातालाई मतदान केन्द्रभित्र प्रवेश नगराउन प्रहरीलाई भने र आफू निष्क्रिय भएर मतदान केन्द्रभित्र बसे । त्यतिबेलासम्म करिब साढे ४ सय मत खसेको थियो । मतदान केन्द्र बाहिर रहेका ३/४ सय मतदाता मतदानका लागि भित्र जान खोजे तर प्रहरीले रोकेर उनीहरुलाई भित्र जान दिएन । मतदान अधिकृत अधिकारीको गतिविधि नियालीरहेका मतदाताहरुले मतदान अधिकृत विरुद्ध नाराबाजी गरे । जसको भिडियो सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देख्न पाईन्छ । तर मतदान अधिकृत अधिकारीले अटेरी गरेरै बेलुका ४.३० बजे मतपेटिकाको सिल बन्द गराएर चरिकोट लिएर आए ।

को हुन पुजन अधिकारी ?

यसरी बैतेश्वरको वडा नम्बर २ का नागरिकको मताधिकार खोसेर राज्यलाई दोहोरो निर्वाचन खर्चको भार थोपर्ने मतियार कर्मचारी पुजन प्रसाद अधिकारी विगु गाउँपालिकामा कार्यरत सातौँ तहका अधिकृत हुन् । उनी माओवादी समर्थित कर्मचारी संगठनका कर्मचारी हुन् ।

जिल्लास्थित मुख्य निर्वाचन अधिकृत, प्रजिअ र सुरक्षा अधिकारीहरुले बारम्वार निर्वाचन चालु गर्न निर्देशन दिँदा पनि मतदातालाई भोट हाल्न नदिई दिउँसो १२ बजे नै मतपेटिका बन्द किन गरे ? उनी कोबाट निर्देशित थिए ? निर्वाचन अधिकृतको समेत निर्देशन पालना नगरी चुनाव बीचमै रोकेको कारण उक्त स्थानको निर्वाचन रद्द भएको छ । यहीँ मसिर १५ गते पुनः निर्वाचन हुँदैछ ।

नेकपा एमालेले निर्वाचनमा बुथकब्जा गर्ने कर्मचारीलाई मतियार घोषणा गर्ने निर्णय गरेअनुरुप अधिकारीलाई पनि ‘बुथकब्जा गर्ने मतियार कर्मचारी’ को सूचीमा राखेको छ ।