जनता टाइम्स

२३ श्रावण २०७६, बिहीबार १२:५३

स्वास्थ्यचौकीको भवन निर्माण सम्पन्न


पाल्पा, साउन २३

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ मा रहेको छहरा स्वास्थ्यचौकीको भवन निर्माण सम्पन्न भएको छ । हल, आवासीय कोठासहित दुई तले ११ कोठाको नयाँ भवन बनेको छ । सरकारको करीब रु साढे दुई करोडको लागतमा भवन निर्माण भएको स्वास्थ्यचौकी प्रमुख प्रतिक्षा लाम्टाङ्गेले बताउनुभयो ।

“पुरानो भवनमा बसेर सबै सेवा एउटै कोठाबाट प्रदान हुँदा बिरामी तथा सेवा दिन बसेका स्वास्थ्यकर्मीलाई सेवा प्रवाहमा समस्या परेको थियो, अब नयाँ भवनमा फरक–फरक कक्षको व्यवस्थापन भएपछि सेवा प्रवाहमा सहज हुनेछ”, उहाँले भन्नुभयो । बिरामी जाँच, सुरक्षित गर्भपतन, परिवार नियोजन, सुरक्षित मातृत्व, ल्याबजस्ता सेवा प्रदान गर्दै आइरहेको छ । २०५१ सालमा स्थापना भएको यस स्वास्थ्यचौकीमा दैनिक २० देखि २२ जना बिरामीले सेवा लिँदै आइरहेका छन् ।

हाल एक कार्यालय प्रमुख, एक अहेव, दुई जना स्थायी र दुई जना करारमा कार्यरत अनमी, एक ल्याब कर्मचारी, दुई कार्यालय सहयोगी कर्मचारी कार्यरत छन् । जिल्लाका चिदीपानी, हुमिन, दर्लमडाँडा स्वास्थ्यचौकी निर्माणको काम अन्तिम चरणमा रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताउनुभयो ।