जनता टाइम्स

१४ मंसिर २०७९, बुधबार ०९:४८

एक करोड २६ हजार मत गन्दा एमाले २७ लाखसहित पहिलो, नेकपा एसलाई थ्रेसहोल्ड कटाउनै सकस (सूचीसहित)


काठमाडौं, मंसिर १४ । मंसिर ४ गते सम्पन्न निर्वाचनमा समानुपातिकतर्फको १ करोड २६ लाख मतगणना सकिँदा नेकपा एमाले साढे २७ लाख मत ल्याएर पहिलो दल कायमै रहेको छ ।

एमलोले दोस्रोमा रहेको नेपाली कांग्रेसभन्दा १ लाख ४२ हजार १२२ मत बढी पाएको छ । नेपाली कांग्रेसले २५ लाख ५७ हजार ५१६ मत पाएको छ । यसैगरी नेकपा माओवादी केन्द्रले ११ लाख ४४ हजार ६५ मतसहित तेस्रो स्थानमा रहेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार ३२१ मतसहित चौथो स्थान कायम गरेको छ ।

पाँचौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ । सो पार्टीले ५ लाख ७० हजार ७५६ मत पाएको छ भने छैटौंमा जनता समाजवादी पार्टी आएको छ । सो पार्टीले ३ लाख ९३ हजार ६८२ मत पाएको छ । यस्तै सिके राउत नेतृत्वको जनमत पार्टी ३ लाख ५४ हजार मतसहित सातौं स्थानमा आएको छ । अहिले सम्म यी सात दलले मात्रै समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका छन ।

आठौंमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रहेको छ । सो दलले २ लाख ८२ हजार ३५१ मत पाएको छ । सो दललाई समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन अझै ३५ हजार मत आवश्यक रहेको देखिन्छ । जनताटाइम्स डटकमसँगको कुराकानीमा आयोगका अधिकारीले अव सो दललाई आश्चर्यजनक मत नआए थ्रेसहोल्ड कटाउन निकै मुस्किल देखिएको बताए ।

‘सवै मतगणना भइसकेको छ अव रोकिएको तीन क्षेत्र मात्रै हो, त्यसैले थ्रेस होल्ड कटाउन मुस्किल देखिएको छ,’ ती अधिकारीले भने ।निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको गणनाामा हालसम्म १ करोड २६ लाख ९६४ मत सदर भएको छ । अव मतगणना स्थगित भएको दोलखा, स्यांजा २ र बाजुराको मात्रै मतगणना बाँकी रहेको छ ।