जनता टाइम्स

१४ मंसिर २०७९, बुधबार १५:३८

दोलखाको दोहोरिएको चुनावमा सुरक्षा व्यवस्था कडा : ४ सय सुरक्षाकर्मी परिचालन, ढुक्कसँग मतदान गर्न अपिल


चरिकोट, मंसिर १४ । दोलखामा बिहीबार हुन गइरहेको पुनः मतदानमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मंसिर ४ गतेको निर्वाचनमा बुथ कब्जा भएका बुथमा हुन गइरहेको निर्वाचनमा अवरोध सिर्जना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको हो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरी निर्वाचन सुरक्षाका लागि तैनाथ गरिसकिएको प्रहरीले जनाएको छ । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित र विश्वसनीय बनाउन सबै सुरक्षा व्यवस्था चुस्त पारिएकाले निर्धक्क भएर मतदान गर्न अपिल गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता राजेश सिग्देलले पुनः मतदानमा ४ सय सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो । ’यसअघि बुथ कब्जा भएका ठाउँमा अब फेरि बुथ कब्जा हुँदैन, निर्धक्कका साथ मत हाल्न आउनुस् भनेर विश्वस्त दिलाउन चाहान्छौं’, प्रहरीले भनेको छ ।
सबै सुरक्षाको तयारी पूरा भएको र सबै टोलीहरु खटिसकेको पनि प्रवक्ता सिग्देलले जानकारी गराउनुभयो । कानुन भन्दा बाहिर गएर कुनै गतिविधि भए तत्काल पक्राउ गरि कारवाही गरिने उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले पुनः मतदानमा यसअघि खटिएका सुरक्षाकर्मी भन्दा तीन गुण बढी सुरक्षाकर्मी परिचालन गरिसकिएको बताउनु भयो । उहाँले पुनः मतदान हुने क्षेत्र पुरै सिल गरिने पनि बताउनुभयो ।

निर्वाचनलाई भयरहीत बातावरणमा सम्पन्न गर्न र डर क्रासरहित बनाउन आफ्नो तर्फबाट कुनै कशर बाँकि नराखिएको उहाँको भनाई छ ।
बुथ कब्जा भएका दोलखाको वैत्यश्वर गाउँपालिका ६ का वैत्यश्वर माध्यमिक विद्लाय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, वैत्यश्वर वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रको क, ख, ग, तामाकोसी गाउँपालिका ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख बिहीबार पुनःमतदान हुँदैछ ।