चरिकोट, मंसिर १५ । दोलखाको गैरीमुदी र भुसाफेदामा मतदानमा खटिएकै कर्मचारीले कसरी बुथ कब्जा गरे भन्ने तथ्य सवैका लागि उपयोगी हुनेछ । मंसिर ४ गते भएको निर्वाचनमा कर्मचारी नै बुथ कब्जाको मतियार बनेपछि मतदाताले मत हाल्न पाएनन । प्रस्तुत छ, गैरीमुदी र भुसाफेदामा गरिएका कर्मचारीको बुथकब्जा योजनाको एक रिपोट :
‘राजेश सर प्रदेशमा भन्दा ७७ भोट प्रतिनिधिसभामा कम भएको छ । मैले गनिसकेँ त्यो संख्या मिलाउनु पर्छ, मैले मतपत्रमा सही पनि गरिसकेँ तपाईले उनीहरुलाई बोलाएर हाल्न लगाउनु’ मंसिर ४ को निर्वाचनमा नवीन मावि भुसाफेदामा खटिएका ‘क’ केन्द्रका मतदान अधिकृत बाबुराम कार्कीले ‘ख’ केन्द्रका अर्का अधिकृत राजेश बस्नेतलाई भने । राजेशले ७७ वटा मतपत्रमा सही गरे र आफैँले अर्धकट्टीबाट च्यातेर गठबन्धका कार्यकर्ताको हातमा थमाइदिए ।
बुथकब्जा गर्ने गठबन्धनको योजना मुताबिक नवीन मावि भुसाफेदामा नेपाली कांग्रेस समर्थित कट्टर शिक्षकहरुलाई मतदान अधिकृत बनाएर पठाइयो । बाबुराम कार्की नारायणी मावि भीरकोटमा पढाउने राहत शिक्षक हुन् । अस्थायी कर्मचारीलाई निर्वाचन अधिकृत जस्तो जिम्मेवार पदमा नखटाउने प्रयोजन हुँदाहुँदै कार्कीलाई योजनाबद्द ढंगले पठाइयो ।
राजेश पशुपति कन्यामावि चरिकोटमा पढाउने शिक्षक हुन् ।
बिहान ७ बजेबाट नै निर्वाचन सुरु भयो । बिहानपख सुरु सुरुमा मानिसहरु आउने क्रम अलि ढिला भयो । थोरै संख्यामा मतदाताहरु आए । दिउँसो ११ बजेपछि अलि धेरै संख्यामा मानिसहरु मत हाल्न आएको जस्तो देखियो ।
बुथकब्जाको सेटिङ अनुसार नै हातभरी मतदाता नामावली कार्डको बिटो लिएर गठबन्धनका कार्यकर्ता लाइन बसे तर कार्ड कसकसका हुन् भन्ने थाहा थिएन । उनीहरु लाइनमा बसेर मतपत्र मागेर भोट हाल्न थालेपछि दुवै अधिकृतहरु भ्याइनभ्याई हस्ताक्षर गरी भोट हाल्न सघाउन थाले । त्यसपछि मतपत्रका बिटाबिटा नै गठबन्धनका कार्यकर्ताको हातमा थमाइदिए । मतदाता परिचय कार्ड सकिएछि पनि मृत्यु भएका र विदेश गएका मानिसको नामको मतदान सिरियल नम्बरका आधारमा हाल्न दिनु भन्दै दुबै अधिकृतले आदेश गरे । गठबन्धनका कार्यकर्ता पनि आदेश पालना गर्दै गए ।
अब वैधानिक कब्जा हुन थाल्यो । एकलौटी ढंगले जनताका कार्ड लिएर भोट हाल्न लागेपछि वडाध्यक्ष तीर्थ श्रेष्ठले प्रतिवाद गर्न खोजे तर सकेनन् । एमालेका अर्जुन लामा, युवराज तामाङ, शुक्र लामा लगायतले पनि प्रतिवाद गर्न खोजे तर उनीहरुको सुनुवाई भएन, निरन्तर बुथकब्जा भइरह्यो ।
अध्यक्ष श्रेष्ठले प्रहरी असई तेज खरेललाई बुथकब्जा रोक्न आग्रह गरे तर असईले कुनै प्रतिक्रिया जनाएनन्, मौन समर्थन गरिरहे । त्यसपछि गठबन्धनका कार्यकर्ता उनीमाथि आक्रमण गर्न खनिए ।
अन्य मतदाताले पनि प्रहरी इन्चार्जसँग बुथकब्जा रोक्न आग्रह गरे तर उनले ‘दुवै मतदान अधिकृत मिलेर आएका छन् उनीहरुले त रोक्न सकेनन् मैले कसरी रोक्नु?’ भन्दै पन्छिएर अधिकृतहरुको रहस्य खोले ।
एमालेका कार्यकर्ताले प्रहरीको जिल्लास्तरीय नेटवर्कमा जानकारी गराएपछि सशस्त्र प्रहरीले दूधपोखरीबाट फोर्स पठाउँछौँ भन्ने जानकारी दियो । सेनाको गाडी प्रयोग गरेर आएको सशस्त्र प्रहरी उक्त गाडी बिग्रिएपछि हिँड्दै आएको जानकारी दियो । जब ३ बजे टोली आइपुग्यो त्यतिबेलासम्म दुवै बुथमा २१३२ मत खसालिसकिएको थियो । जुन ९६ प्रतिशत हो ।
बीचमा केहीबेर मतदान प्रक्रिया अलमल भयो, लफडा नै होलाजस्तो भएपछि स्थानीयलेअधिकृत राजेश र बाबुरामलाई मतदान स्थगित गर्नुपर्ने हो कि भनेर प्रश्न गरे तर अधिकृत राजेशले …कुमार दाइलाई सोध्नुपर्छ भने ।’ कुमार अधिकारी त्यहाँका नेपाली कांग्रेसका नेता भनेर चिनिन्छन्। राजेशको यस्तो उत्तर सुनेपछि सबैलाई प्रश्ट भइहाल्यो कि, उनीहरु सेटिङमा आएका हुन् । सानो कुराको निर्णय लिनपनि उनीहरु कांग्रेसी नेताको आदेश कुरिरहेका थिए ।
त्यसैबेला गठबन्धन समर्थित स्थानीय शिक्षक फुर्बादोर्जे तामाङ ‘मैले १०० भोट हालेँ’ भन्दै निस्किए । यसरी सत्ता गठबन्धनले आफू समर्थित सरकारी जागिरेलाई नाङ्गो रुपमै उतारेको यो भुसाफेदामा मात्रै हो, भन्ने एमाले दोलखाले निश्कर्ष निकालेको छ ।
स्थानीयका अनुसार यी दुई अधिकृत र प्रहरी इन्चार्ज खरेलले चुनावको अघिल्लो दिनमै रेशम थापा मगरको घरमा बसेर निर्वाचनमा बुथकब्जा गर्ने योजना बनाइसकेका थिए । बेलुकाबेलुका इन्चार्ज खरेल हराउने पनि गरेका पनि थिए । उनी कहाँ र कोसँग जान्थे भन्ने कसैले थाहा पाएका थिएनन् ।
आफ्नै आँखा अगाडि एकजना प्रहरी जवानलाई गठबन्धका कार्यकर्ताले हातपात गर्दासमेत इन्चार्ज खरेल र निर्वाचन अधिकृत बाबुरामले केही प्रतिक्रिया दिएनन् । आफ्नै जवानको सुरक्षामा समेत चासो नदेखाएका उनको रवैया देख्दा उनले गठबन्धनबाट मीठै चास्नी पाएको सबैले महशुस गरेका छन ।
त्यहाँबाट सार्वजनिक भएको भिडियो हेर्दा सबै प्रहरी जवानहरुले मतदानकेन्द्रमा भएको गतिविधिलाई वास्ता नगरी बुथकब्जालाई स्वीकार गरेको प्रष्ट देख्न सकिन्छ ।
दिनभर बुथकब्जा गरेर सफल भएपछि दुवै अधिकृत बसेर मुचुल्का बनाए । आफ्नै तरिकाले झुटो प्रतिवेदन तयारी गरीनिर्वाचन आयोगलाई बुझाए ।
यसरी जनताको मतलाई कब्जा गरी गठबन्धनलाई सघाउने गैरकानुनी काम गर्ने यी दुवै अधिकृत र सुरक्षा इन्चार्जलाई मतियार कर्मचारीको रुपमा एमालेले घोषणा गरेको छ । उनीहरुबिरुद्द मुद्दा हाल्ने रकालोसूचीमा राख्ने एमाले दोलखाले जनाएको छ ।
वैत्यश्वर १ गैरीमुदीमा मतदान अधिकृत ओलीले नै गराए कब्जा
स्थानीय तहको निर्वाचनमा गठबन्धनको पक्षमा खुलेर मत माग्दै हिँडेर विवादमा परेका नवराज ओलीलाईअति संवेदनशील गैरीमुदीमा मतदान अधिकृतमा खटाइपछि जिल्लाको सर्वदलीय बैठकमै प्रश्न उठेको थियो ।
सधैँ बुथकब्जा हुने गैरिमुदी-१ मा निश्पक्ष चुनाव हुने कुरामा शंका व्यक्त गरिएपछि सर्वदलीय बैठका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जनताले भोट हाल्न नपाएको सूचना पाउनेवित्तिकै रद्द गर्छौ भनेर आश्वस्त गराए ।
आखिर उनले नै गठबन्धन दलसँग मिलेर विहानैदेखि मतदाता लखेटेर बुथ कब्जा सजिलो बनाइदिए । उक्त केन्द्रमा मतदाता भगाएर एकलौटी मत खसालेको बारे नेकपा एमालेले जिल्ला सुरक्षा संयन्त्रलाई मंसिर ४ को मध्यान्हमै जानकारी गराएको दाबी छ ।
जानकारी गराउने बित्तिकै प्रजिअ खतिवडाले फोन गरेर सोध्दा अधिकृत ओलीले सबै ठीक छ भनेर जवाफ दिएको बताए ।प्रजिअले मतदान अधिकृतले नभनी केही गर्न मिल्दैन भनेर जवाफ दिए । सुरक्षाकर्मी थपिदिने भन्दा पनि पर्दैन भन्ने जवाफ पाएको त्यतिखरै प्रजिअले एमालेलाई सुनाएका थिए ।
कोहीलाई आउन नदिई गठबन्धनलाई भोट हाल्न मतपत्र सही गर्दै दिने, कनुनी प्रकृया मिलाइदिने कर्मचारीलाई नेकपा एमालले जनमत लुट्ने मतियार कर्मचारी घोषित गर्ने र मुद्दा हाल्ने तयारी गरेको उक्त पार्टीको विज्ञप्तिमा उल्लेख छ ।
कर्मचारी खटनपटनमै सेटिङ….
कालिञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीलाई जिल्लाको सबैभन्दा संवेदनशील मानिएको बैतेश्वर गाउँपालिका वडा नम्बर– १, गैरीमुदीमा मतदान अधिकृतको जिम्मेवारी सेटिङमै दिइयो ।
ओलीले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मतदातालाई विभिन्न प्रलोभन देखाई गठबन्धनका उम्मेदवारलाई जिताउन भोट मागेका थिए । त्यो बेला उनले मतदातालाइ प्रलोभनमा पारेको अडियो हालसम्म सुरक्षित रहेको छ ।
सत्तारुढ गठबन्धन निकट भएकै कारण उनलाई यो निर्वाचनमा सेटिङ गरेर गैरीमुदी मतदान केन्द्रमा खटाईएको विपक्षी दल एमालेको आरोप छ ।उक्त मतदान केन्द्रको बुथ प्रत्येक निर्वाचनमा नेपाली कांग्रेसले लगातार कब्जा गर्दै आएको छ ।गत स्थानीय तह निर्वाचनमा उक्त मतदान केन्द्रबाट कांग्रेसका उम्मेदवारले १ हजार ९ सय मत प्राप्त गर्दा एमाले र माओवादी केन्द्रका उम्मेदवारले जम्मा पाँच मत पाएका थिए ।
सोही स्थानमा गठबन्धन निकट कर्मचारीलाई खटाईनु योजनाबद्द तयारी भएको एमालेको निश्कर्ष छ । निर्वाचनमा नियमावलीमा निजामती कर्मचारीले कुनै दल विशेषलाई सहयोग पुग्नेगरी भूमिका निर्वाह गर्न नपाईने उल्लेख छ ।यो निर्वाचनमा संवेदनशील बुथ भएकै कारण निर्वाचन आयोगबाट पटक पटक फोन आउँदा पनि उनले शान्तिपूर्ण निर्वाचन भएको रिपोर्टिङ गरे ।
सुरक्षा अवस्था बारे प्रमुख जिल्ला अधिकारीले फोनबाट फलोअप गर्दा सबै ठीक भएको र थप फोर्स आवश्यक नपर्ने बताए ।तर भित्राभित्रै गठबन्धनको मिलेमतोमा गठबन्धका कार्यकर्तालाई लामबद्द गरेर घुमाइफिराई, फर्काइ फर्काइ मतदान गर्ने वातावरण मिलाए । बाहिरबाट कोही आउनु नपर्नेगरी शान्त वातावरणमा वैधानिक बुथकब्जा गराए ।
उनले १३५३ मत खसाल्न लगाए र चुपचाप शान्तिपूर्ण निर्वाचन भएको रिपोर्टिङ गराए । उनी नेकपा माओवादी समर्थित कर्मचारीका रुपमा चिनिन्छन् ।बुथकब्जाको नाङ्गो नाच भएको सहन नसकी एकजना नानी बोकेकी महिलाले थप मत हाल्नबाट जोगाएको खटिएका अर्को एकजना कर्मचारीले जानकारी दिए ।
गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा ओलीको कार्यशैली र व्यवहारप्रति सर्वसाधारण आजित थिए। निर्वाचनमा गम्भीर अपराध गरेपछि कर्तुत लुकाउन निर्वाचन पछि उनले जिल्ला छाडेका छन । पहले नै सरुवा भएपनि निर्वाचनमा गठबन्धनलाई सघाउन दोलखामा बसेको जानकारीमा आएको छ ।
प्रतिक्रिया दिनुहोस्