जनता टाइम्स

१५ मंसिर २०७९, बिहीबार १५:२८

मनाङमा प्रत्यक्षमा भन्दा समानुपातिकमा बढी मत बदर


मनाङ, मंसिर १५ । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ भन्दा समानुपातिकमा बढी मत बदर भएको छ ।

हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ चुनाव चिन्ह कम र समानुपातिकमा चुनाव चिन्ह बढी हुँदा मतदाता अन्योलमा परेकाले मत बढी बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मनाङमा प्रतिनिधिसभा प्रत्यक्षतर्फ १९ मत बदर भएको छ भने समानुपातिकतर्फ ४९ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेशसभा प्रत्यक्षतर्फ ६ मत बदर भएको छ भने समानुपातिकतर्फ ७४ मत बदर भएको छ । राजनीतिक दलको चुनाव चिन्हका कारण मतदातालाई छनोट गर्न समस्या हुँदा समानुपातिकतर्फ मत बढी बदर भएको हुनसक्ने शर्माको भनाइ छ ।

मनाङमा प्रतिनिधिसभा तर्फ चार हजार आठ सय ४५ मत खसेको थियो भने प्रदेशसभा १ मा दुई हजार दुई सय १० मत खसेको थियो । प्रदेशसभा २ मा निर्विरोध भएकाले मतदान भएन ।