जनता टाइम्स

१५ मंसिर २०७९, बिहीबार १८:२५

झलनाथमाथि अर्को बज्रपात, माधवले गरे यसरी घात


काठमाडौं, मंसिर १५ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालमाथि अर्काे बज्रपात भएको छ । इलाम १ बाट प्रतिनिधिसभा सदस्यमा पराजीत भएपछि राष्ट्रपति बन्ने चाहना राख्नुभएका खनाललाई पार्टी अध्यक्ष माधवकुमार नेपालले नै अर्कै निर्णय लिएपछि बज्रपात भएको हो ।

सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसकै साथमा उभिने निर्णय गरेको नेकपा एसले राष्ट्रपति नभई सभामुखलाई बटमलाइन बनाएको छ । नेकपा एकीकृत समाजवादीले सभामुख पदलाई प्रमुख बटमलाइन बनाएको हो । सो पार्टीका नेता एवं सहरी विकासमन्त्री मेटमणि चौधरीले यसको पुष्टिसमेत गर्नुभएको छ ।

राजधानीमा आयोजित कार्यक्रममा चौधरीले पहिलो दल भएका कारण कांग्रेसले पहिलो ’च्वाइस’ गर्न पाउने र उस्ले प्रधानमन्त्री रोज्दा दोस्रो ठूलो दल माओवादीले राष्ट्रपति रोज्ने र आफूहरुलाई सभामुख चाहिने बताउनु भयो । तेस्रो पार्टीका रूपमा रहेका एकीकृत समाजवादीले भने सभामुखको बटमलाइन बनाएको चौधरीको भनाई छ ।

’गठबन्धनभित्र हामी तेस्रो ठूलो दल हौं। पहिलो र दोस्रोले रोजेपछि हामीले रोज्ने हो। हामीले सभामुख पदलाई बटमलाइन बनााएका छौं,’ चौधरीले भन्नुभयो ।

नेकपा एस निकट नेताहरुका अनुसार अध्यक्ष नेपालले राष्ट्रपति आफ्नो दललाई नचाहिएको जनाउ प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई दिइसक्नु भएको छ । चुनाव हारेर आएलगत्तै खनालले राष्ट्रपति बन्ने इच्छा देखाएपछि माधवले तेस्रो दलको हैसियतमा सभामुख दिन दुवै नेतासँग अनुरोध गर्नुभएको छ ।