जनता टाइम्स

१५ मंसिर २०७९, बिहीबार १९:१२

जेल जाने प्रतिस्पर्धामा माधव-प्रचण्ड र बाबुराम


काठमाडौं, मंसिर १५ । सत्ता गठबन्धनमा रहेका तीन पूवएप्रधानमन्त्री निर्वाचन सकिएलगत्तै जेलतिर दौडिनुभएको छ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई फकाउन गठबन्धनका शीर्ष नेताहरू कारागार धाउन थाल्नुभएको हो ।

नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले डिल्लीबजार कारागार पुगेर चौधरीलाई पालैपालो भेटनु भएको छ । कारागारका अनुसार दाहालले सोमबार अपराह्न, नेपालले मंगलबार बिहान र भट्टराईले मंगलवार दिउँसो चौधरीसँग पालैपालो भेटनुभएको हो ।

तिनै नेताले सरकार बनाउन सहयोग गर्न चौधरीसामू आग्रह गर्नुभएको थियो भने प्रधानमन्त्री शेरबहादुर देउवाको समेत आफूहरुकै जस्तो प्रस्ताव रहेको बताउनु भएको छ । सरकार बनाउन आफ्नो गठबन्धनको संख्या अपुग हुने देखिएपछि सत्ता गठबन्धनले सिके राउत र रेशम चौधरीलाई पहिलो प्राथमिकता दिएको छ । सोहीअनुसार नेताहरु कारागार धाउन थाल्नुभएको हो ।

नागरिक उन्मुक्ति पार्टीले चौधरीको रिहाइ गर्नुपर्ने पहिलो सर्त राख्दै आएको छ । ०७२ भदौ ७ मा टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र ७ सुरक्षाकर्मीको हत्यामा कैलाली अदालतबाट दोषी ठहर भएका चौधरीको सजाय उच्च अदालत दिपायलले सदर गरेपछि उहाँ जेलमै हुनुहुन्छ ।

चौधरीले रिहाइका लागि सर्वोच्च अदालतमा अपिल गर्नुभएको छ । उहाँ ०७४ मा कैलाली–१ बाट निर्वाचित भए पनि सांसद पद निलम्बनमा रहेको थियो । सोही कारण नागरिक उन्मुक्ति पार्टीले चौधरीको रिहाइ पहिलो बटमलाइन बनाएको हो ।

उन्मुक्ति पार्टीबाट कैलाली–१ मा अध्यक्ष रञ्जीता श्रेष्ठ, कैलाली–२ मा अरुनकुमार चौधरी, कैलाली–३ मा गंगाराम चौधरी निर्वाचित हुनुभएको छ भने बर्दिया–२ बाट स्वतन्त्र उम्मेदवार लालवीर चौधरी निर्वाचित हुनुभएको छ । उहाँ रेशमका बुवा हुनुहुन्छ । प्रदेशसभामा पनि उन्मुक्तिले ७ सिट जितेको छ ।