जनता टाइम्स

१६ मंसिर २०७९, शुक्रबार ०८:०४

नवलपरासीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु


काठमाडौं, १६ मंसिर । नवलपरासी पूर्वको धौवादीमा भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज–०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै बिहीबार साँझ दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेमा बुलिङटार गाउँपालिका–६ का ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार–५ राइकोटकी ६७ वर्षीया मनसभा बराल, बौदीकाली गाउँपालिका–२ की २८ वर्षीया केसरी दराई र ५८ वर्षीय यामबहादुर ठाडा रहेका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी घाइते भएका आठ जनाको चितवनमा उपचार भइरहेको छ । घाइते हुनेमा चालक दुर्गाबहादुर विरकट्टा, फूलमाया कुमाल, सुनिता रानाभाट, निश्चल रानाभाट, खेमचन्द्र दरई, सजन दरई, सुना सुनार र उत्तम क्षेत्री छन् ।जिपको ब्रेक फेल भएर भित्तामा ठोक्किएर सडकबाट करिब तीन सय मिटर तल खसेको छ ।