जनता टाइम्स

१७ मंसिर २०७९, शनिबार १२:०७

प्रदेश १ मा समानुपातिकतर्फ एमालेका यी उम्मेदवार हुनेछन सांसद


बिराटनगर, मंसिर १७ । सवैभन्दा बढी मत ल्याएको नेकपा एमालेले प्रदेश नम्बर १ मा समानुपातिकतर्फ १४ जना सांसद पाउने भएको छ । प्रदेश १ मा सबैभन्दा बढी नेकपा एमालेले ६ लाख ६५ हजार ४६० मत पाएको छ ।

यस मतको आधारमा एमालेले १४ सीट पाउने छ । एउटा सीट एमालेले पाउनेकी जनता समाजवादीले पाउने भन्ने अझै हिसाब सकेको छैन । प्रदे १ मा प्रत्यक्षतर्फ एमालेले २५ सिट जितेको छ । समानुपातिकको १४ सीट मध्ये एकजना खस आर्य पुरुषमा १ पुरुष पठाउन पाउनेछ । निर्वाचन आयोगले सार्वजनिक गरेको एमालेको समानुपातिक बन्दसूचीको १ नम्बरमा खसआर्य तर्फबाट किशोरकमार अधिकारी रहनु भएको छ । अधिकारी प्रदेशसभा सदस्य निर्वाचित हुनुहुनेछ ।

१३ जना महिलामध्ये ६ जना आदिवासी जनजाति, ४ जना खस आर्य महिला, मधेशी, दलित र थारुमा एक एक जना महिला समानुपातिकबाट पर्ने देखिन्छ । निर्वाचन आयोगमा बुझाएको बन्दसूची अनुसार जनजाति कोटामा पहिलो नम्बरबाट क्रमशः उदयपुरकी सिर्जना दनुवार, झापाकी कमला थापा मगर, सुनसरीकी मिना श्रेष्ठ, भोजपुरकी सिर्जना राई, मोरङकी मालती कुमारी लिम्बु र धनकुटाकी मनकुमारी तितुङ हुनुहुन्छ ।

त्यस्तै, ४ जना खस आर्य महिलामध्ये बन्दसूचीमा क्रमश १ नम्बरबाट मोरङकी शिला दीक्षित कार्की, झापाकी तारादेवी ढकाल, सुनसरीकी मिरादेबी खनाल र उदयपुरकी गितादेवी रेग्मी हुनुहुन्छ । दलित महिला तर्फ कमलादेवी दर्नाल तेह्रथुम, मधेशी महिलामा गितारानी महतो झापा र थारु क्लष्टरबाट ललिताकुमारी चौधरी मोरङको नाम १ नम्बरमा छ । एमालेपछि समानुपातिकमा नेपाली कांग्रेसले बढी मत पाएको छ । कांग्रेसले ५ लाख ६२ हजार ९५६ मत पाउँदा उसले १२ सिट पाउने देखिएको छ ।

यस्तै राप्रपाले प्रदेश १ मा समानुपातिक तर्फ १ लाख ९८ हजार ५११ मत पाएको छ । राप्रपाले समानुपातिक तर्फ ४ सीट पाउने देखिएको छ । राप्रपा पछि चौथो बढी मत पाएको माओवादी केन्द्रले प्रदेश १ मा १ लाख ८१ हजार २४५ मत पाएको छ । माओवादीले पनि ४ सीट समानुपातिक तर्फ पाउने देखिन्छ । निर्वाचन आयोगका अनुसार जनता समाजवादीले प्रदेश १ मा ६१ हजार ७२३ मत पाएको छ ।

उसले १ सीट कन्फर्म पाउनेछ । उसले १ दशमलब ३२३ मत पाउँदा २ सीट पनि पाउन सक्ने संभावना रहेको छ । यदि जनता समाजवादीको १ मात्रै भए एमालेको १५ सीट समानुपातिकमा हुनेछ । प्रदेश १ मा थ्रेस होल्ड कटाएको एकीकृत समाजवादीले समानुपातिक तर्फ १ सीट पाउने छ ।

प्रत्यक्ष तर्फ दलहरुले जितेका सीटका आधारमा प्रदेश १ मा समानुपातिकका ३७ सीटमध्ये ३१ जना महिला प्रदेश सभा सदस्य हुनेछन् । प्रदेश सभामा ६ जना पुरुष समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य हुने छन् । ४ सीट पाउने माओवादीले सबै महिला पठाउनु पर्नेछ । जसमा २ आदिवासी जनजाति, १ खसआर्य र १ दलितलाई प्रदेश सभामा पठाउनु पर्ने छ ।

यस्तै ४ सीट पाउने राप्रपाले १ महिला र ३ पुरुष पठाउनुपर्नेछ । जसमा २ आदिवासी जनजाति, १ खसआर्य र १ दलित रहनुपर्ने निर्वाचन आयोगले जनाएको छ । १२ सीट पाउने काँग्रेसले २ पुरुष र १० महिला प्रदेश सभामा समानुपातिक तर्फबाट पठाउनुपर्नेछ । जसमा ६ आदिवासी जनजाति, ३ खसआर्य, १ दलित, १ मधेशी र १ थारु हुनुपर्ने देखिन्छ ।

समानुपातिक तर्फबाट १४ सीट पाउने एमालेले १ पुरुष र १३ महिलालाई समानुपातिक तर्फबाट प्रदेश सभामा पठाउनुपर्नेछ । जसमा ६ आदिवासी जनजाति, ४ खस आर्य, १ दलित, १ मधेशी र १ थारु अनिवार्य हुनुपर्ने छ । एकीकृत समाजवादीले महिला र जसपाले पनि महिला नै समानुपातिक तर्फबाट पठाउनु पर्ने देखिएको छ ।