जनता टाइम्स

१८ मंसिर २०७९, आईतवार ०९:५१

माओवादीको निर्णयले झस्कियो कांग्रेस


काठमाडौं, मंसिर १८। नयाँ सरकार गठनबारे सबै विकल्पमा खुला रहने माओवादी केन्द्रको निर्णयले सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस झस्किएको छ। अन्तिम चुनावी परिणाम नआउँदै शनिबार पेरिसडाँडामा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले गठबन्धनभित्रैबाट बहुमत पुर्‍याउन कोसिस गर्ने र सम्भव नभए अन्य विकल्पमा पनि खुला रहने निर्णय गरेपछि कांग्रेस झस्किएको हो ।

माओवादीको उक्त निर्णयबारे जानकारी पाएलगत्तै कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई फोन गरेर चासो राख्नुभएको छ । माओवादीको यो निर्णयसँगै नेकपा एमालेभित्र पनि दवाव बढेको छ ।

सबै दललाई मिलाएर आफ्नो नेतृत्व वा आफ्नो पहलमा सरकार बनाउन प्रयत्न गर्नुपर्ने मत प्रमुख प्रतिपक्षी नेकपा एमाभित्र बलियो बन्दै गएको छ। विशेषगरी एमालेको दोस्रो तहका नेताले माओवादी केन्द्रसँग सम्पर्क र छलफल बढाएका छन्। माओवादी केन्द्रभित्र पनि कतिपयले वामपन्थी एकता र वाम सरकारका लागि खुला रहनुपर्ने बताउन थालेका छन्।

आफ्नै नेतृत्वमा सरकार गठनका लागि नेपाली कांग्रेसले पहलकदमी लिइरहेका बेला सरकार निर्माणबारे माओवादीले सबैसँग विकल्प खुला राख्ने निर्णय गरेर नेपाली कांग्रेसलाई दवाबमा राख्न खोजेको कतिपयले विश्लेषण गरेका छन्।

यही गठबन्धन कायम राख्ने हो भने सरकारको नेतृत्व आलोपालो गर्नुपर्ने र पहिले आफूले नेतृत्व गर्ने चाहना माओवादी अध्यक्ष प्रचण्डको छ। त्यसबाहेक राष्ट्रपति, सभामुख, उपराष्ट्रपति र उपसभामुखजस्ता महत्वपूर्ण पद बाँडफाँटको विषय पनि मिलाउन बाँकी नै छ। कांग्रेस सभापति शेरबहादुर देउवाले भने भरसक आफ्नै नेतृत्वमा सरकार गठनको पहल सुरू गर्नुभएको छ ।