जनता टाइम्स

१८ मंसिर २०७९, आईतवार १५:३६

कैलाली र कञ्चनपुरको विद्युत आपूर्ति सुधार गर्न पूर्वाधार विस्तार गरिँदै


काठमाडौं, १८ मंसिर । नेपाल विद्युत प्राधिकरणले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा विद्युत खपत बढाउन र आपूर्ति सुधार गर्न प्रसारण तथा वितरण प्रणालीको सञ्जाल विस्तार गर्ने भएको छ । प्राधिकरणले तत्कालको समस्या समाधान गर्न हाल रहेका प्रसारण र वितरण प्रणालीका संरचनाहरूको सुदृढीकरण र विस्तार गर्ने छ ।

दीर्घकालीन समस्या समाधान गर्न उच्च क्षमताका प्रसारण लाइनको निर्माण गरिने छ । गर्मीको समयमा कैलालीको अत्तरिया, टीकापुर धनगढी, कञ्चनपुरको महेन्द्रनगरलगायतका सहरी क्षेत्रमा न्यून भोल्टेज, ट्रिपिङलगायतको समस्या रहेको उपभोक्ताहरूको गुनासो आउने गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायत सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आइतबार त्यस क्षेत्रको स्थलगत अनुगमन भ्रमण गरी विद्युत आपूर्ति सुधारका लागि गर्नुपर्ने कामका विषयमा जानकारी लिएको छ ।

टोलीले नगरपालिका प्रमुखहरू, उद्योग वाणिज्य संघका प्रतिनिधिहरूसँग छलफल गरेको थियो । टोलीले प्राधिकरणका सुदूरपश्चिम प्रादेशिक कार्यालय तथा वितरण केन्द्र प्रमुखहरूसँग छलफल गरी गर्मी सुरु हुनुभन्दा पहिलेनै विद्युत आपूर्ति सुधारका सम्पूर्ण कार्य सम्पन्न गर्न र त्यसका लागि आवश्यक पर्ने बजेट तत्काल पेश गर्न निर्देशन दिएको छ ।

साथै सुदूरपश्चिमका जिल्लाहरूको विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी सोही अनुसार काम गर्नसमेत निर्देशन दिएको छ । कार्यकारी निर्देशक घिसिङले कैलाली र कञ्चनपुर क्षेत्रको विद्युत आपूर्तिको समस्यालाई समाधान गर्न तत्काल र दीर्घकालीन रूपमा गर्नु पर्ने कामका लागि टोली नै बनाएर अध्ययन भइरहेको बताउनुभयो ।

‘३३ केभी लाइन क्षमताभन्दा बढी चलाउनु परेका कारण खासगरी गर्मी मौसममा भोल्टेज, ओभरलोडलगायतका समस्या छ, यसको समाधानका लागि कैलालीको अत्तरिया सबस्टेसनबाट दक्षिण क्षेत्र हुँदै १३२ केभी लाइन र धनगढी आसपासमा १३२ केभी सबस्टेसन निर्माण तत्काल सुरु गर्न लागेका छौं, कञ्चनपुरको पुनर्बास र बेलौरीलाई पनि १३२ केभी लाइनबाट जोड्ने छौं, १३२ केभी लाइन केन्द्रमा आएपछि भोल्टेज, ट्रिपिङलगायतका समस्या हुँदैनं’, घिसिङले भन्नुभयो ।

उहाँले कर्णाली, सेती, र महाकाली नदी जलााधार क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरूको विद्युत प्रवाहका लागि ४०० केभीका प्रसारण लाइन निर्माण हुन लागेको बताउनुभयो । लमही–छिन्चु, छिन्चु दोदोधारा, दोदोधार–नयाँ अत्तरिया (दैजी) ४०० केभी प्रसारण लाइन अध्ययनको क्रममा रहेका छन् । लमही, मातीपुर छिन्चु र नयाँ अत्तरियामा ४००र१३२ सबस्टेसन निर्माण गरिने छ ।

‘अहिले कालीगण्डकीको विजुली लामो प्रसारण लाइनबाट यस क्षेत्रमा आपूर्तिका लागि ल्याउनु पर्ने वाध्यात्मक अवस्थाका कारण पनि समस्या आएको हो, यस वर्ष नै बझाङ, दार्चुलामा निर्माण भएका जलविद्युत आयोजनाहरूको करिब एक सय मेगावाट विद्युत अत्तरिया सबसबस्टेसनमार्फत यस क्षेत्रमा वितरण गर्न सकिने हुँदा भोल्टेजको समस्या धेरै समाधान हुने छ,’ उहाँले भन्नुभयो । प्राधिकरण टोलीले प्रस्तावित प्रसारण लाइनको रुट तथा सबस्टेसन निर्माण गरी ठाउँ, सञ्चालित सबस्टेसन, निर्माणाधीन आयोजननाहरूको पनि अनुगमन गरेको थियो ।