जनता टाइम्स

१८ मंसिर २०७९, आईतवार १६:४२

चुनावअघि २० लाख मत ल्याएर पार्टी पहिलो बनाउँछु भन्थे माधव, तीन लाख पनि आएन मत


काठमाडौं, १८ मंसिर । निर्वाचनअघि प्रचारप्रसारका क्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले २० लाख समानुपातिक मत ल्याउने दाबी गर्नुभएको थियो ।

उहाँले सबैभन्दा धेरै मत ल्याएर आफ्नो पार्टी पहिलो बन्ने पनि बताउनुभएको थियो । तर, एक करोड चार लाख समानुपातिक मतगणना भइसक्दा एकीकृत समाजवादीले दुई लाख ९४ हजार ३६२ मत पाएको छ । अर्थात् तीन लाख ल्याउन पनि हम्मे–हम्मे परेको छ ।

डेढ वर्षअघि मात्र एमाले विभाजन गरेर नेपालले एकीकृत समाजवादी पार्टी गठन गर्नुभएको थियो । पार्टी गठन भएको आठ महिनापछि भएको स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीले एक महानगरपालिका, एक उपमहानगरपालिकासहित धेरै नगरपालिका र गाउँपालिका जितेको थियो । त्यसैले संसदीय निर्वाचनमा पनि आफ्नो पार्टीले उल्लेख्य मत ल्याउने नेता नेपालको अपेक्षा थियो ।

तर, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न संघर्षरत छ । हालसम्मको मतगणनाले एकीकृत समाजवादी पार्टी नबन्ने सम्भावना प्रबल छ । अझै स्याङ्जा २, बाजुरा र दोलखाको समानुपातिक मत गन्न बाँकी छ । एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बन्न अझै १७ हजार मत आवश्यक पर्छ । तर, त्यति ल्याउन उसलाई महाभारत नै पर्ने देखिन्छ ।

राष्ट्रिय पार्टी बन्नबाट वञ्चित भएमा एकीकृत समाजवादीले संसद् सचिवालयबाट पाउने सेवासुविधा सबै गुमाउने छ । त्यति मात्र होइन, राष्ट्रिय पार्टीको हैसियतमा नभई उहाँ संसदमा स्वतन्त्र दलको हैसियतमा रहनुहुनेछ ।

बरु एमाले अध्यक्ष केपी ओलीले चुनावी भाषण र मिडियामा दिएको अन्तर्वार्तामा दाबीका साथ माधवकुमार नेपालको पार्टी राष्ट्रिय पार्टी नबन्ने बताउनुभएको थियो । चुनावी परिणामले एकीकृत समाजवादी त्यही बाटोमा अग्रसर भएको देखिएको छ ।