जनता टाइम्स

१८ मंसिर २०७९, आईतवार १८:३८

महाकालीको धार परिवर्तन हुने गरी तटबन्ध बनाउँदै भारत, प्रतिकारमा उत्रिए दार्चुलावासी


दार्चुला, मंसिर १८ । महाकाली नदीको धार परिवर्तन हुने गरी भारतले तटबन्ध बनाउन थालेपछि बांगाबगरका स्थानीय बासिन्दाले नेपाल–भारत जोड्ने झोलुङ्गे पुल बन्द गरेका छन ।

आइतबार दिउँसो ४ बजेबाट बांगाबगरका स्थानीय महिला र पुरूषको समूह आएर पुलमा ताल्चा लगाएको हो । पुल बन्द गर्ने क्रममा महाकाली वारीपारीबाट नेपाली र भारतीयबीच ढुंगा हानाहानसमेत भएको छ ।

दार्चुलाका स्थानीयले तटबन्ध निर्माण गरिरहेका भारतीय पक्षलाई ढुंगामुढासमेत गरेका थिए । ढुंगामुढा गर्दा पनि निर्माण नरोकिएपछि अहिले नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा ताल्चा लगाउन बाध्य भएको स्थानीयले बताएका छन् । दार्चुलाको भारत–नेपाल जोड्ने सीमामा दुई पक्षबीच ढुंगा हानाहान भएको हो ।

आइतबार साँझ महाकाली नगरपालिका–४ पुलघाटमा करिब ४ बजेतिर भारतीय र नेपाली स्थानीयबीच ढुंगा हानाहान भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजेश शाहीले जानकारी दिनुभएको छ ।

महाकाली पारि भारतीय पक्षले तटबन्धन बनाउन ग्याबिन वालहरू लगाइरहेको छ । त्यसक्रममा कामदारले सुरूमा ढुंगा हानेपछि यताबाट पनि हानेर पठाएको इन्स्पेक्टर शाहीले बताउनु भयो । घटनापछि जिल्लाबाट डिएसपीको कमान्डमा टोली खटिएको छ ।