जनता टाइम्स

१९ मंसिर २०७९, सोमबार १२:१३

सत्ता गठबन्धनको आएन बहुमत, प्रत्यक्ष र समानुपातिक गरी यस्तो छ २७५ सिटको अंकगणित


काठमाडौं, मंसिर १९ । नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धन निर्वाचनमा बहुमत जुटाउन असफल बनेको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा चुनावमा होमिएको ५ दलीय सत्ता गठबन्धन चुनावमा बहुमत जुटाउन असफल बनेको हो ।

आजसम्म कुल १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फको मतगणना सकिदा सत्ता गठबन्धनले १३६ सिटमा मात्रै जित निकालेको छ । सरकार बनाउन १३८ सांसद आवश्यक पर्छ । सर्वाेच्च अदालतको परमादेशबाट सरकारमा पुगेको गठबन्धनलले बहुमत नपाएसँगै परमादेशलाई जनादेशले खारेज गरेको तथ्य पनि उजागर भएको छ ।

निर्वाचनको मत परिणाम अनुसार नेपाली कांग्रेसले प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ सिट गरी ८९ सिट जित्ने देखिएको छ । यस्तै नेकपा माओवादीले १८ प्रत्यक्ष र १४ समानुपातिक गरी ३२ सिट, नेकपा समाजवादीले १० सिट प्रत्यक्षमा जितेको छ । सो दलले समानुपातिमा थ्रेसहोल्ड कटाउन असफल बनेको छ ।

यस्तै सत्ता गठबन्धनकै जनमोर्चाले१ सिट जितेको छ भने लोसपाले ४ सिट जितेको छ । यी तीनवटै दल समानुपातिकमा थ्रेसहोल्ड कटाउन असफल बनेका छन । सत्ता गठबन्धनमा रहेको कांग्रेस र माओवादीले मात्रै थ्रेसहोल्ड कटाएको हो । निर्वाचनमा नेकपा एमालेले ४४ प्रत्यक्ष र समानुपातिकमा सवैभन्दा बढी ३४ सिट जितेर ७८ स्थान, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ प्रत्यक्ष र १४ समानुपातिक गरी २१ सिट, राप्रपाले७ प्रत्यक्ष र ७ समानुपातिक गरी १४ सिट जितेको छ ।

यस्तै जसपा ७ प्रत्यक्ष र ५ समानुपातिक गरी १२, जनमत पार्टी १ प्रत्यक्ष र ४ समानुपातिक गरी ५, नागरिक उन्मुक्ति पार्टी प्रत्यक्षमा ३ सिट जितेको छ । यस्तै नेमकिपाले१ सिट र ५ जना स्वतन्त्र उम्मेदवार बिजयी भएका छन ।