जनता टाइम्स

१९ मंसिर २०७९, सोमबार १६:३९

मध्यपहाडी राजमार्ग – डेढ दशकमा ६४ प्रतिशत मात्रै सम्पन्न


काठमाडौं, १९ मंसिर । मध्यपहाडको समृद्धिको आधारका रुपमा रहेको पुष्पलाल (मध्यपहाडी) राजमार्गको निर्माण शुरु भएको डेढ दशकमा ६४ प्रतिशत पूरा भएको छ । आयोजनाको पहिले तोकिएको अवधि सकिएको छ वर्ष नाघीसक्दा पनि कतिपय खण्डमा सडक कहाँबाट बनाउने (रेखाङ्कन) मा नै अन्योल छ ।

पहिले बूढीगण्डकी नदीको नजिकै सडकको रेखाङ्कन रहेको भने ऊर्जा तथा जलस्रोत मन्त्रालयले सो स्थानमा जलाशययुक्त आयोजना निर्माण गर्ने योजना बनाएका कारण अझै अन्योल भएको आयोजनाका सूचना अधिकारी सुरज अधिकारीले बताउनुभयो । केही समय पहिलेसम्म कास्कीमा पनि रेखाङ्कनको अन्योल भए पनि अहिले त्यो समाधान भइसकेको उहाँको भनाइ छ ।

आयोजनाअन्तर्गत झण्डैै चार सय १५ किमी सडक निर्माण र २५ पुल निर्माण गर्न बाँकी रहेको उहाँको भनाइ छ । त्यसमध्ये पनि दुई सय पाँच किमी सडक र १९ पुल निर्माणका लागि ठेक्का सम्झौता हुन बाँकी छ । चालु आर्थिक वर्षमा मात्रै तीन सय ५७ किमी सडक कालोपत्र, १८ पुल निर्माण र एक सय ३४ दशमलव पाँच किमी सडक निर्माणका लागि ठेक्का व्यवस्थापन गर्नुपर्ने आयोजनाले जनाएको छ ।

पछिल्लो पटक थप भएको अवधि चालु आवको अन्तिमसम्म भए पनि त्यो अवधिसम्म ठेक्का भइसक्नसमेत कठिन देखिएको छ । मन्त्रिपरिषद्को निर्णयबाट कास्कीमा पर्ने एउटा खण्डमा रेखाङ्कन परिवर्तन भएको छ । भैँसे–ज्याम्दु–मेलबोट–पानीघाट–आन्टीघर–अर्मलाकोट.काली खोला पुल-अमला बिसौनी–लामाचौर–जौबारी–याम्दी पुल खण्डमा सडक निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो ।

सो खण्डको लम्बाइ ३८ किमी छ । बूढीगण्डकीमा जलाशययुक्त आयोजना अझै सात/आठ वर्ष नबन्ने भएकाले सडक अघि बढाउनु भनी ऊर्जा मन्त्रालयले पत्र पठाएको सूचना अधिकारी अधिकारीले बताउनुभयो । ठेक्का लगाउन बाँकी खण्डमा पनि सडक निर्माणका लागि प्रक्रिया अघि बढाइरहेको छ । कास्कीमा ठेक्का सकिएर मूल्याङ्कनका क्रममा छ भने सिन्धुपाल्चोकको बाहुनेपाटी ठेक्का अघि बढाइएको उहाँले बताउनुभयो ।

राजमार्गको दुई खण्डमा पहिले ग्राभेलको ठेक्का सम्पन्न नभएकाले पनि कालोपत्रका लागि ठेक्का गर्न नसकिएको सूचना अधिकारी अधिकारीले जानकारी दिनुभयो । दोलालघाट नेपालथोकको खण्डमा ग्राभेलको ठेक्का चालू रहेकाले त्यो सकिएपछि नै नयाँ ठेक्कामा जान सकिनेछ । अझै पनि वनको समस्या धेरै खण्डमा रहेको आयोजनाले जनाएको छ ।

रुख काट्नका लागि पहिले वातावरणीय अध्ययन स्वीकृत गर्नुपर्छ र पछि त्यो खण्डमा काम गर्दा रुख काट्नका लागि छुट्टै फाइल उठेर मन्त्रालय गएर त्यहाँबाट मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ । पहिले वातावरणीय अध्ययन स्वीकृत गरेर काम सुरु गर्ने तर जङ्गल क्षेत्रमा पुगेपछि पुनः काट्नका लागि अनुमति लिनुपर्ने उहाँको भनाइ छ । अहिले गोरखाका धेरै खण्ड, लमजुङ र नुवाकोटमा बनका कारण ढिलाइ भइरहेको उहाँले बताउनुभयो ।

आयोजनामा निर्माण सामग्री उत्खननमा विवाद, मुआब्जा विवाद र सडक सीमा कायम नहुनु पनि समस्याका रुपमा रहेको आयोजनाले जनाएको छ । सरकारले घर तथा, टहराको मात्रै क्षतिपूर्ति दिन्छ तर जग्गाको दिँदैन । कतिपय ठाउँमा नजिकैमा वैदेशिक लगानीका आयोजनामा जग्गाकोसमेत क्षतिपूर्ति दिने भएकाले स्थानीयवासीले माग गर्ने गरेको अधिकारीले बताउनुभयो ।

आव २०६४/६५ मा सुरु भएको सडक आव २०७३/७४ मा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । त्यस यता पटक–पटक अवधि थप हुँदै आएको छ । पछिल्लो पटक आगामी असार मसान्तसम्मका लागि अवधि थप भएको छ । राष्ट्रिय यातायात नीति २०५८ मा पूर्व–पश्चिम राजमार्गको विकल्पका रुपमा मध्य पहाडबाट अर्को राजमार्ग निर्माण गर्ने उल्लेख थियो ।

सोही बमोजिम सरकारले मध्यपहाड पुष्पलाल राजमार्ग नामकरण गरी विसं २०६४/६५ देखि आयोजना कार्यान्वयन सुरु गरेको हो । सरकारले विसं २०६५ फागुन २६ गते रेखाङ्कन स्वीकृत गरेको थियो । मध्य पहाडका २६ जिल्लालाई जोड्ने सो राजमार्गले दुई सय १५ बस्ती जोड्ने र झण्डै एक करोड मानिस लाभन्वित हुने अनुमान गरिएको छ ।

सरकारले आव २०६७/६८ देखि पूर्वी र पश्चिमी खण्डमा विभाजन गरी आयोजना निर्माण अघि बढाएको थियो भने हाल पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालयअन्तर्गत पाँच योजना कार्यालय छन् । पहिले पूर्वी र पश्चिमी खण्डमा बिभाजन गरी आयोजना निर्माण अघि बढाएको थियो भने हाल पुष्पलाल ९मध्यपहाडी० राजमार्ग आयोजना निर्देशनालयअन्तर्गत पाँच योजना कार्यालय रहेका छन् ।

पूर्वको पाँचथरको चियो भञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्मको छ । यसको निर्माण सम्पन्न हुँदा मध्यपहाडका नागरिकको जीवन सहज हुने, नयाँ सहर निर्माण हुने र पूर्व–पश्चिम राजमार्गको चाप कम हुने अनुमान गरिएको छ । सरकारले आव २०६९/७० देखि यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राखेको छ ।