जनता टाइम्स

२० मंसिर २०७९, मंगलवार १०:२६

सबैभन्दा बढी मत केपी ओलीलाई, दोस्रोमा रवि : सवैभन्दा कम मतले हार्नेमा भिष्मराज आङ्देम्बे


काठमाडौं, मंसिर २० । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको सम्पुर्ण नतिजा आउँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा किर्तिमान कायम भएको छ । एमाले अध्यक्ष ओलीले सबैभन्दा बढी मत पाउनु भएको हो ।

ओली झापा–५ मा ५२ हजार ३ सय १९ मत पाएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४३ मत पाउनु भएको छ । ओलीपछि दोस्रो बढी मत राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको नाममा रहेको छ ।

लामिछानेले चितवन–२ मा ४९ हजार ३ सय मत पाउनु भएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८८ मत पाउनु भएको छ । यो मतान्तर सबैभन्दा बढी हो । भक्तपुर–१ मा विजेता नेमकिपाका प्रेम सुवाल र निकटतम प्रतिद्वन्द्वी एमालेका नवराज गेलालको मतान्तर पनि ३० हजार ७ सय ९३ रहेको छ ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार सुनील शर्माले मोरङ–३ मा ४८ हजार ६ सय ३१ मत ल्याउँदै एमालेका उम्मेदवार भानुभक्त ढकाललाई हराउनु भएको छ । ०७४ मा ढकालले शर्मालाई हराउनु भएको थियो ।

सवैभन्दा कम मतले पराजित आङ्देम्बे

कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे सबैभन्दा कम मतान्तरले पराजित उम्मेदवार बन्नुभएको छ । उहाँ पाँचथरमा एमालेका वसन्तकुमार नेम्वाङसँग ४६ मतले हार्नुभएको हो । नेम्वाङले ३२ हजार १ सय ३५ मत ल्याउँदा आङ्देम्बेका पक्षमा ३२ हजार ८९ मत आएको छ ।

कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १ सय १२ मतान्तरले विजयी हुनुभएको छ । सुनसरी–४ मा उहाँ ३० हजार ४ सय ८३ मत विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका जगदीशप्रसाद कुसियतको ३० हजार ३ सय ७१ मत थियो ।

कम मतले चुनाव जित्नेमा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि हुनुहुन्छ । उहाँले इलाम–२ मा कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई १ सय १४ मतले हराउनु भएको छ । यस्तै धनुषा–४ मा एमालेका रघुवीर महासेठले कांग्रेसका महेन्द्र यादवलाई १ सय १४ मतले जित्नुभएको छ । काठमाडौं–१ मा विजयी कांग्रेसका प्रकाशमान श्रेष्ठ र निकटतम प्रतिद्वन्द्वी राप्रपाका रवीन्द्र मिश्रको मतान्तर १ सय २५ रहेको छ ।