जनता टाइम्स

२० मंसिर २०७९, मंगलवार १६:१०

न्यायाधीशमाथि लाग्यो यौन शोषणको आरोप


काठमाडौं, मंसिर १९ । कपिलवस्तुका एक जना जिल्ला न्यायाधीशमाथि बलात्कार आरोप लागेको छ । न्यायाधीश भुवन गिरीमाथि एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा अनुसन्धान सुरु भएको छ ।

पीडितले आफूलाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अनुसन्धान थालेको हो ।
पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध सुरुमा कपिलवस्तु प्रहरीमा उजुरी गर्नुभएको थियो । तर, कपिलवस्तु प्रहरीले उजुरी लिन नमानेपछि पीडित महिला एक साताअघि राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा पुगेर उजुरी दिनुभएको थियो ।

दुवै आयोगले कपिलवस्तु प्रहरीलाई उजुरी लिएर छानबिन गर्न निर्देशन दिँदै पत्र पठाएका थिए । मानव अधिकार आयोगले भने न्यायपरिषदलाई समेत उजुरी र पत्रको बोधार्थ पठाएको थियो ।

‘शारीरिक बन्धक बनाएर न्यायाधीशले यौन शोषण गरिरहेको उजुरी हामीकहाँ एक हप्ता अगाडि आइपुगेको थियो । हामीले कपिलवस्तु प्रहरीलाई उजुरी लिएर छानविन गर्न निर्देशन दिएका छौं’, मानव अधिकार आयोगकी सदस्य लिली थापाले भन्नुभयो ।

मानव अधिकार आयोगका अनुसार, उजुरीमा न्यायाधीश गिरीमाथि पीडित महिलालाई करिब ५ वर्षदेखि बन्धक बनाएर यौन शोषण गरिरहेको आरोप छ । राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापाले पीडितले आयोगमा आएर पटकपटक करणी गरेर गर्भपतन गर्न लगाएको पनि खुलाएकी छन ।

महिला आयोगका अनुसार, पीडित महिला ०७५ देखि नै न्यायाधीशसंग थिइन् । राष्ट्रिय मानव अधिकार आयोग, न्यायपरिषद सचिवालय र राष्ट्रिय महिला आयोगले समेत सोधपुछ र अनुसन्धान थालेपछि न्यायाधीश गिरी १५ दिने बिदा बसेका छन् । आफूमाथि छानबिन सुरु भएपछि न्यायाधीश गिरीले उच्च अदालत तुलसीपुरको बुटबल इजलासबाट १५ दिन विदा लिएका छन् ।