काठमाडौं, मंसिर २० । काठमाडौंको धुम्बाराहीमा आइतबार साँझ आफैलाई पेट्रोल खन्याएर आत्मदाह गरेकी युवतीका परिवारले प्रहरीमा किटानी जाहेरी दिएको छ ।
आफैले आगो लगाएकी युवतीको सोमबार बिहान मृत्यु भएको थियो । उनको परिवारले यो घटना शंकाष्पद रहेको भन्दै प्रहरीमा जाहेरी दिएको हो ।
बुद्धनगर घर भएकी २७ वर्षीया पुष्पा न्यौपानेले इन्गेजमेन्ट भइसकेपछि बिहे तोडेपछि सुधन संग्रौलाको घरबाहिर पुगेर साँझ सवा ७ बजे आफूलाई आगो लगाएकी थिइन् । सख्त घाइते भएको अवस्थामा कीर्तिपुरस्थित कीर्तिपुर अस्पलतामा लगिए पनि उपचारका क्रममा सोमबार साँझ ९ बजेर २२ मिनेटमा उनको मृत्यु भयो ।
मृतक युवती र सुधनबीच शनिबार मात्र ईन्गेजमेन्ट तोडिएको थियो । केटा पक्षले केटीको घर पुगेर जनै सुपारी फिर्ता गर्दै विवाह तोडेको भोलीपल्ट युवतीले केटाको घर पुगेर आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गरेकी थिइन । सुधन र युवतीबीच गत भदौ १८ गते इन्गेजमेन्ट भएको थियो । एक वर्षभित्र बिहे गर्ने सहमति भए पनि दुई जनाबीच सम्बन्ध चिसिएपछि दुवै परिवार विवाह नगर्ने निर्णयमा पुगेको बताइएको छ ।
प्रहरीले सुधनलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ । व्यवसाय गर्दै आएका सुधन मृतक युवतीको परिवारसँगको व्यापारिक सम्बन्धका आधारमा नजिकिएका थिए । प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा सुधनलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको हो ।
पुष्पाका आफन्तले सुधन र उनको परिवारले निरन्तर मानसिक यातना दिएको र जबर्जस्ती विवाह तोडेको आरोप लगाएका छन् । उनीहरुले प्रहरीमा किटानी जाहेरीसमेत दिएका छन् ।

‘मंसिर १७ गतेका दिन प्रतिवादीहरु बुद्धनगर घरमा आई हामी विवाह गर्न सक्दैनौँ, विवाह क्यान्सिल गरौँ भन्दै जनै सुपारी, इन्गेजमेन्ट कार्यक्रममा दिए–लिएको दक्षिणा एवम् गरगहनासमेत फिर्ता गरी प्रतिवादीहरुले मानसिक यातना दिए र यसैगरी घटना घट्नु अगाडिसम्म प्रतिवादीहरुले मानसिक यातना दिँदै आएको थिए’, प्रहरीमा दिइएको जाहेरीमा भनिएको छ ।













प्रतिक्रिया दिनुहोस्