जनता टाइम्स

२१ मंसिर २०७९, बुधबार १९:५२

जनस्तरको प्रतिवादपछि महाकाली धकेल्ने गरी भइरहेको कामबाट पछि हट्यो भारत, नदीलाई पुरानै धारबाट बगाउन सहमत


दार्चुला, मंसिर २१ । दार्चुलामा महाकालीको बहाव नेपाल तर्फ धकेल्ने गरी भारतले निर्माण गरिरहेको पक्की संरचनाको काम तत्काल रोकिने भएको छ । आज नेपाल र भारतका सुरक्षा अधिकारीहरूको छलफलमा भारत आफ्नो अघिल्लो कदमबाट पछि हट्न सहमत भएको हो ।

सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा पेचिलो बन्दै गइरहेको तटबन्ध विवादलाई निकास दिन आज नेपाल–भारत समन्वय समितिको बैठक भारतमै बसेको थियो । उक्त बैठकमा पनि भारतीय सुरक्षा अधिकारीहरूले सुरुमा भइरहेको कामलाई निरन्तरता दिन नेपाली सुरक्षा अधिकारीसँग आग्रह गरेका थिए । नेपाली सुरक्षा अधिकारीहरूले त्यहाँ विवाद रहेको र नेपाली भूमिमा प्रभाव पर्ने भन्दै काम रोक्नु पर्ने अडान लिएका थिए ।

नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएपछि नेपाली प्रशासन र भारतको स्थानीय प्रशासनबीच आज छलफलमा भएको हो । भारत पिथौरागढस्थित जिल्ला अधिकारी कार्यालयकी प्रमुख रीना जोशीले नेपाली पक्षको असहमतिको आधारमा काम अघि बढाउन नसकिने जनाउँदै तत्काल काम रोक्न सहमत हुनुभएको बैठकमा सहभागी नेपाली अधिकारीहरुले दिनुभएको छ ।

आजको बैठकमा भइरहेको काम रोक्ने मात्रै होइन नेपाल तर्फ महाकाली धकेल्ने गरी तयार गरिएका संरचनाहरू हटाउन पनि भारत सहमत भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो।

उपाध्यायका अनुसार महाकालीलाई पुरानै बहावमा बगाउने गरी ती संरचना हटाइन लागेको र त्यसका लागि १० दिनको समय निर्धारण गरिएको छ । यसअघि मङ्गलवार भारतीय अधिकारीले महाकाली नदी क्षेत्रमा भइरहेको तटबन्ध निर्माणको कामको अनुगमन पनि गरेका थिए।

आइतबार महाकाली नदीको धार परिवर्तन हुने गरेर भारतले एकलौटी तटबन्ध निर्माण गरेपछि दार्चुला खलंगाका स्थानीय विरोध तथा प्रतिरोधमा उत्रिएका थिए। विरोध विवादमा परिणत हुँदा झडप भएको र ४ जना घाइते समेत भएका थिए । सोमबार दार्चुलामै आएका भारतीय सुरक्षा अधिकारीहरूले काम रोक्न सहमत भएको जनाएका थिए ।