जनता टाइम्स

२२ मंसिर २०७९, बिहिबार १७:०२

विदेशी सामानको आयात खुले पनि अटो व्यवसायमा कर्जा सीमा नहटेको भन्दै व्यवसायीको विरोध


काठमाडौं, २२ मंसिर । सरकारले विदेशी सामान आयात खुला गरे पनि अटो व्यवसायमा लगाउँदै आएको कर्जा सीमा नहटाएसम्म व्यवसायमा सुधार नआउने व्यवसायीहरूले बताएका छन् । आज काठमाडौंमा आयोजित विरोध प्रर्दशनमा उनीहरूले अटो कर्जाको सीमा अन्त्य र एलसी खेल्दा नगद मार्जिन हटाउन नेपाल राष्ट्र बैंक र सरकारलाई आग्रह गरेका हुन् ।

प्रर्दशनमा सहभागीहरुले बैंक ब्याजदर नियन्त्रण गर्न पनि नेपाल राष्ट्र बैंकलाई आग्रह समेत गर्नुभएको छ । खुला अर्थतन्त्रमा यसरी कर्जामा सीमा लगाएका कारण अटो व्यवसाय चौपट भएको उनीहरूको दुखेसो छ । साथै, तरलता अभावलाई सहज बनाउन, बैंकहरूलाई अटो व्यवसायमा लगानी बढाउने गरी ढोका खोल्न उनीहरूको आग्रह छ ।

सरकारले अटो व्यवसायललाई सहज बनाउने वातावरण बनाउन पनि आग्रह छ । प्रर्दशनमा सहभागीहरूको भनाइ छ, ‘निजी क्षेत्र सरकार विरोधी होइनन् सरकारलाई सहयोग नै गर्न स्थापना भएका हुन् । तर, राष्ट्र बैंक र सरकारले ल्याएका नीति अटो व्यवसायी विरोधी छन् । त्यसलाई सुधार गर्नुपर्छ ।’