काठमाडौं, मंसिर २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समानुपातिक सांसदमा नाम छनौटका विषयमा चर्काे विवाद देखिएको छ । समानुपातिक पद्धतिमा सांसद चयन गर्दा विधि मिच्न खोजिएको भन्दै उम्मेदवार र पार्टीका नेताहरुले असन्तुष्टि जनाएपछि पार्टीभित्रको बिवाद सतहमा आएको हो ।
रास्वपाले प्राइमरी इलेक्सनमा धेरै मत ल्याएकाहरूको क्रम मिलाएर बन्द सूची पेश गरेको थियो । तर चुनाव सकिएपछि प्राइमरी इलेक्सनबाट समानुपातिक पद्धतिका उम्मेदवारको बन्दसूची तय गरिएपनि सो प्रक्रिया मिच्न खोजिएको उम्मेदवारहरुको आरोप छ ।
रास्वपाका असन्तुष्ट नेताहरुले पार्टी कार्यालय अगाडि आज खबरदारी सभासमेत गरेका छन । सो क्रममा रास्वपा सुनसरीका सभापति लालविक्रम थापाले प्राइमरी इलेक्सनमा थोरै मत ल्याएकालाई समानुपातिक सांसद बनाउन खोजेको भन्दै नेतृत्वलाई खबरदारी गरेको बताउनु भयो । ‘पार्टीको विधि मिच्न मिल्दैन । समानुपातिक सांसद चयनमा चलखेल हुनुहुँदैन,’ थापाले भन्नुभयो ।
बन्दसूचीमा रहेका उम्मेदवारहरुलेपनि पार्टीमा मोटो रकमको चलखेल गरी प्राइमरी इलेक्सन र बन्दसूचीको क्रम संख्या मिचेर तिथि बसाल्ने कुराको धज्जी उडाउँदै केन्द्रीय समितिले बन्द सूचीमा पछाडि भएका उम्मेदवारलाई सांसद बनाउने दाउमा रहेको बताएका छन ।
रास्वपाभित्र प्राइमरी इलेक्सनमा आएको मत हेरेर धेरै मत ल्याउने र बन्दसूचीको नामलाई आधार मानेर समानुपातिकतर्फ सांसद पठाउनुपर्ने माग उठे पनि नीति र तिथि बसाल्नेहरू माथि नै आशंका पैदा भएको पनि उनीहरुको आरोप छ ।
रास्वपाले समानुपातिकतर्फ १३ सिट पाएको छ । पार्टीको प्राइमरी इलेक्सन र समानुपातिकतर्फ बन्दसूचीमा नाम पठाइएको र समावेशी सिद्धान्तअनुसार मिल्ने गरी १३ जना सांसदमा चयन गर्नुपर्ने हुन्छ ।
निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता पाएकाहरूलाई तीन दिनभित्र समानुपातिक उम्मेदवारको नाम पठाउन भनेको छ । सोही अनुसार रास्वपामा चलखेल भएको भन्दै खवरदारी सभा समेत भएको हो ।














प्रतिक्रिया दिनुहोस्