दाङ, मंसिर २२ । मंसिर ४ गते सम्पन्न निर्वाचनमा लुम्बिनी प्रदेशमा सरकार बनाउन पुग्ने संख्या सत्ता गठबन्धन र नेकपा एमाले दुवैलाई प्राप्त हुन सकेन । सत्ता गठबन्धन र एमाले नेतृत्वको गठबन्धन दुवैको बहुमत नआएपछि गठबन्धन बाहिर रहेका दलहरुको समर्थन खोज्ने काम अघि बढेको छ र
लुम्बिनीमा नेकपा एमालेका प्रत्यक्षबाट १८ र समानुपातिकतर्फ ११ गरी २९ जना सांसद निर्वाचित भएका छन भने नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ १७ र समानुपातिकबाट १० गरी २७ जना सांसद निर्वाचित भएका छन । यस्तै नेकपा माओवादी केन्द्रका प्रत्यक्षतर्फ ५ र समानुपातिकबाट ४ गरी ९ जना सांसद निर्वाचित भएका छन ।
राप्रपाले प्रत्यक्षतर्फ २ र समानुपातिकबाट २ गरी ४ जना प्रदेश सांसद जितेको छ भने नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षतर्फ २ र समानुपातिकबाट २ गरी ४ जना सांसद जितेको छ । लुम्बिनीमा जनता समाजवादी पार्टीका प्रत्यक्षतर्फ २ र समानुपातिकबाट १ गरी ३ जना जितेको छ भने लोकतान्त्रिक समाजवादी पार्टीका प्रत्यक्षतर्फ २ र समानुपातिकबाट १ गरी ३ जना प्रदेश सांसद जितेको छ ।
निर्वाचनमा पहिलोपटक होमिएको जनमत पार्टीले प्रत्यक्षतर्फ १ र समानुपातिकबाट २ गरी ३ जना, नेकपा एकीकृत समाजवादी र जनमोर्चाले समानुपातिकबाट १–१ सीट पाएका छन् । ८७ सदस्यीय प्रदेशसभा रहेको लुम्बिनीमा सरकार बनाउन ४४ सांसद आवश्यक पर्छ । यहाँ प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ सांसद निर्वाचित हुनेछन ।
अहिलेकै सत्ता गठबन्धन कायम भए र लोसपाले सघाएको अवस्थामा सत्ता गठबन्धनको ४१ सीट मात्रै हुन्छ । यहाँ सत्ता गठबन्धनमा कांग्रेसको २७, माओवादीको ९, नेकपा एस र जनमोर्चाको १–१ तथा लोसपा ३ गरी ४१ सीट पुग्नेछ । उसलाई सरकार बनाउन अझै ३ सीट पुग्दैन ।
सत्ता गठबन्धनले स्वतन्त्रबाट जितेका ३ सांसदको समर्थन जुटाउन सके बहुमतको सरकार बनाउन सक्ने सम्भावना रहेको छ । जनमत र उन्मुक्तिले समर्थन गरेमा सत्ता गठबन्धनलाई बहुमतको सरकार बनाउन सहज हुनेछ ।
यता नेकपा एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउन सत्ता गठबन्धनबाहेकका सबै दलहरुको समर्थन जुटाउनुपर्छ । एमाले चुनावताका तालमेल गरेको राप्रपा र जसपाको मात्रै समर्थनले बहुमतको सरकार बनाउन पुग्दैन । एमाले नेतृत्व गठबन्धनसँग उसको २९, राप्रपाको ४ र जसपाको ३ जोड्दा ३६ मात्रै पुग्छ । त्यसैले बहुमतको सरकार बनाउन यो गठबन्धनले नागरिक उन्मुक्तिका ४, जनमतका ३ र कम्तीमा स्वतन्त्र एकजना सांसदको समर्थन जुटाउनुपर्छ ।
यस आधारमा लुम्बिनीमा सत्ता गठबन्धन र एमाले नेतृत्वको गठबन्धनलाई सरकार बनाउन नागरिक उन्मुक्ति र जनमत तथा स्वतन्त्र सांसदहरु निर्णायक देखिएका छन । दुवै गठबन्धनका नेताहरुले अहिले प्राप्त परिणामका आधारमा सरकार गठनका लागि आन्तरिक गृहकार्य गरिरहेका छन ।
सत्ता गठबन्धनमा रहेको नेकपा माओवादीका नेता तथा लुम्बिनीका मुख्यमन्त्री कुलबहादुर केसीले केन्द्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जस्ले प्रधानमन्त्री बनाउन सघाउँछ, उसैसँग मिलेर सरकार बनाउने आफ्नो बटमलाइन सुनाइसक्नु भएको छ । उहाँको यो अडान सार्वजनिक भइरहँदा संघमा कांग्रेस सभापति शेरबहादुर देउवा आफै पुनः प्रधानमन्त्री हुने गृहकार्यमा रहनु भएको छ ।
कांग्रेस संसदीय दलमा सहज जीत निकाल्ने रणनीतिका साथ देउवा लागेकोले केसीको बटमलाइनले खासै परिणाम नआउने सत्ता गठबन्धनका नेताहरुले बताएका छन ।














प्रतिक्रिया दिनुहोस्