जनता टाइम्स

२४ मंसिर २०७९, शनिबार २०:२०

पति-पत्नी नै सांसद बन्नेको सूचीमा अशोक सुशिला पनि थपिए


काठमाडौं, मंसिर २४ । जनता समाजवादी पार्टी ९जसपा०ले समानुपातिकसांसदको टुंगो लगाएको छ । पार्टीको कार्यकारिणी समितिको बैठकले प्रतिनिधिसभाका ५ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको हो ।

जसपाका नेता प्रमोद यादवले पुरुषतर्फ प्रकाश अधिकारी र सहनाज रहमानको नाम निर्वाचन आयोगसमक्ष सिफारिस भएको जानकारी दिनुभयो ।

यस्तै महिलामा सुशीला श्रेष्ठ, रन्जु झा र रेखा थापा यादवको नाम सिफारिस भएको उहाँले बताउनु भयो। समानुपातिकबाट सांसद सिफारिश सुशिला सो पार्टीका नेता अशोक राईकी पत्नी हुनुहुन्छ । जसपा नेता राईले सुनसरी १ बाट नेकपा एमालेको सहकार्यमा प्रत्यक्षतर्फ चुनाव जित्नुभएको छ ।

पति पत्नी नै प्रत्यक्ष चुनावमा जित्ने रेडर्क एमालेका रघुबीर महासेठ र जुलीकुमारी महतोको खातामा रहँदा पति पत्नी नै सांसद बन्नेको सूचीमा राई अटाउनु भएको हो । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि पत्नी आरजु राणा देउवालाई समानुपातिकमा सांसद बनाएपछि पति पत्नी नै सांसद हुनेको सूचीमा रहनुभएको थियो ।

सो पार्टीले प्रदेशतर्फ पनि समानुपातिक सांसदको नाम टुंग्याएर आयोगलाई बुझाएको जनाइएको छ । प्रदेश १ मा निर्मला लिम्बू र लुम्बिनी प्रदेशमा अम्बिका काफ्ले प्रदेश सभा सदस्यका लागि पार्टीले सिफारिस गरेको छ । मधेस प्रदेशको भने अझै मिल्न बाँकी रहेको बताइएको छ ।