जनता टाइम्स

२६ मंसिर २०७९, सोमबार १२:४६

मेयर सुशिला शाहीको आपराधिक हर्कत : पत्रकारलाई बन्धक बनाएर गरिन भिडियो डिलिट


धनगढी, मंसिर २६ । कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर सुशिला शाहीले आपराधिक हर्कत गर्नुभएको छ । उहाँले आफ्नो बदमासीबारे भिडियो खिचेको भन्दै कैलालीका पत्रकार खेम ढुङ्गानालाई बन्धक बनाएर समाचारका लागि लिइएको भिडियो डिलिट गर्न लगाउनु भएको हो ।

नगरपालिकाका सवारीसाधन आफ्नो निजी घर निर्माणमा प्रयोग गरेको सूचनापछि समाचार संकलनका लागि पुगेका न्यूज ट्वान्टी फोर टेलिभिजनका पत्रकार ढुङ्गानालाई मेयर शाहीले नियन्त्रणमा लिएर भिडियो डिलिट गर्नुभएको हो ।

पत्रकार ढुङ्गानाकाअनुसार लम्कीचुहा नगरपालिकास्थित मेयर शाहीको मोटरसाइकल स्वरुम नजिकै घर निर्माणमा प्रयोग भएका सरकारी सवारीसाधनको फुटेल लिने बेला पुगेकी शाहीले मोबाइल खोसेर नियन्त्रणमा लिनुभएको थियो । नजिकैको होटलमा लगेर शाहीले ढुङ्गानामाथि दुव्यर्वहार गर्दै भिडियो डिलिट गरिएको हो । उहाँले इलाका प्रहरी कार्यालयलाई खबर गरेपछि प्रहरी निरीक्षक भरत शाह नेतृत्वको टोली सो ठाउँमा पुगेको थियो ।

प्रहरीकै अगाडी शाहीले भिडियोहरु डिलिट गर्नुभएको थियो । पत्रकार ढुङ्गाना प्रेस चौतारी सुदूरपश्चिम प्रदेश समितिका सदस्यसमेत हुनुहुन्छ । मेयर शाहीको यो गुण्डागर्दीप्रति चौतर्फ विरोध भएको छ । सो हर्कतबिरुद्ध प्रेस चौतारी नेपाल कैलालीले कडा आपत्ति जनाएको छ । प्रेस विज्ञप्ती जारी गर्दै घटनाको छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन चौैतारीले माग गरेको छ ।

‘लम्कीचुहा नगरपालिकाकी मेयर सुशिला शाहीले नगरपालिकाका सवारी साधन निजी घर निर्माणमा प्रयोग गरेको सूचनाका आधारमा रिर्पोटिङ गर्न गएका बेला बन्धक बनाएर सञ्चार सामाग्रीहरु समेत नियन्त्रणमा लिएको घटनाप्रती प्रेस चौतारी नेपाल कैलालीको गम्भीर ध्यानाकर्षण भएको छ,’ सचिव जनक विष्टले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘उनलाई हातपात गर्दै नियन्त्रणमा लिइ नजिकैको होटलमा दुई घण्टासम्म बन्धक बनाएर गुन्डागर्दी शैलीमा सबै भिडियो डिलिट गराउनु पत्रकारमाथि दुव्यर्वहार र अपमान मात्र नभई प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथिको प्रहार हो भन्ने हाम्रो ठहर छ ।’

घटनाको निन्दा र भत्र्सना गर्दै पत्रकार ढुङ्गानालाई रिर्पोटिङ स्थलबाट नियन्त्रणमा लिएर होटलमा राखी बन्धक बनाउने कार्यमा संलग्न भएको घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न माग गरिएको छ । मेयर शाहीले नगरपालिकाको गाडीमा यसरी आफ्नो घरको सामान ओसार्ने गर्नुभएको थियो ।

हेर्नाेस भिडियो