काठमाडौं, मंसिर २६ । नेकपा एमाले निकट जनबर्गीय विद्यार्थी संगठन अनेरास्ववियु र युवा संघ नेपालले जनविरोधी अध्यादेश तत्काल फिर्ता नलिए देशब्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ ।
दुवै संगठनका अध्यक्षले आज बिज्ञप्ती जारी गरी अपराधी छुटाउन अध्यादेश ल्याउने निर्णय गरेको भन्दै कडा प्रतिकारको चेतावनी दिएका हुन । अनेरास्वबियूकी अध्यक्ष सुनिता बराल र युवा संघका अध्यक्ष किरण पौडेलले बिज्ञप्तीमार्फत यस्तो आग्रह गर्नुभएको छ । अखिल अध्यक्ष बरालले विज्ञप्ति जारी गर्दै अध्यादेश फिर्ता नलिए कामचलाउ सरकारको विरुद्ध कानुनी राज्य स्थापनाका लागि सडकमा आउने चेतावनी दिनुभएको छ ।
ताजा जनादेश आएर नयाँ सरकार बन्ने अवस्था आइसकेको बेला देउवा सरकारले दीर्घकालीन असर पर्ने निर्णयले संविधानको मर्म, कानुनी राज र लोकतन्त्रको धज्जी उडाएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिमा अपराधीकरण र अपराधको राजनीतिकरण गर्ने गरी मन्त्रिपरिषद्को बैठकबाट गरिएको गैर संवैधानिक राजनीतिक निर्णयले कानूनसँग अन्तर्विरोध राख्ने मुद्दालाई कानुन संशोधन गरी खारेज गर्ने उद्देश्यले ल्याइएको उक्त अध्यादेश सत्तारोहणको लागि बहुमत जुटाउन गरिएको लज्जास्पद निर्णय हो भन्ने अनेरास्ववियुको ठहर छ । ’

बरालले विगतमा जम्बो मन्त्रिमण्डल बनाएर बदनामी कमाएका सत्ताका माहिर खेलाडी देउवाले सांसद किनबेच गरेर, राजाको बलमा आफ्नै पार्टी फुटाएर, अध्यादेशका आधारमा अर्काको पार्टी फुटाउने, परमादेशबाट सरकार निर्माण गर्ने जस्ता अनेकन् हर्कत गरेको आरोप पनि लगाउनु भएको छ।
अहिले देउवाले संविधान विरोधी दण्डहीनतालाई प्रशय दिँदै संसद्को अधिकार क्षेत्रमा प्रहार गर्ने अध्यादेश ल्याई पुनः एक पटक कलङ्कित बनेको आरोप अनेरास्ववियुले लगाएको छ ।
यस्तै युवा संघ नेपालले सरकारले ल्याउन लागेको अध्यादेशको विरोध जनाएको छ। सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता पहिलो संशोधन अध्यादेश २०७९ जारी गर्ने निर्णयको कडा आपत्ति जनाएको हो । युवा संघका अध्यक्ष पौडेलले बिज्ञप्तीमार्फत जनादेशबाट अस्वीकार गरेको गठबन्धन सरकारले नयाँ सरकार गठन गर्ने बेलमा नाजायज चलखेल गरेको बताउनु भएको छ ।
अध्यादेश फिर्ता गर्न सरकारलाई चेतावनी दिँदै बिज्ञप्तीमा भनिएको छ, ‘सङ्क्रमणकालीन अवस्थामा लोकतन्त्र र कानुनी राज्यको समेत धज्जी उडाएर दण्डहीनता र अराजकतालाई प्रश्रय दिने गरी अध्यादेश ल्याई अनैतिक गठबन्धन गर्ने प्रपञ्चका लागि वर्तमान काम चलाऊ सरकारले नवनिर्वाचित संसद्को गरिमामाथि गम्भीर प्रहार गरेको छ ।’
पौडेलले रेशम चौधरीको नाममा गम्भीर जघन्य अपराधको सजाय भोगिरहेका मोहमद अफ्ताव आलम जस्ता अपराधीलाई छुटकारा दिने षड्यन्त्रको पर्दाफास भएको पनि उल्लेख गर्नुभएको छ । जनहीतविपरीत ल्याइएको अध्यादेश तत्काल फिर्ता नगरे आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी पनि दिइएको छ ।














प्रतिक्रिया दिनुहोस्