जनता टाइम्स

२ पुष २०७९, शनिबार १४:०२

सुकुटेलाई पर्यटकीय हव बनाउन चासो, २४सैं घण्टा सञ्चालन गर्न पाउनुपर्नेमा व्यवसायीको जोड


सिन्धुपाल्चोक, २ पुस । सिन्धुपाल्चोकको सुकुटे क्षेत्रलाई ‘पर्यटकीय हब’ बनाउन चौतारा साँगाचोकगढी नगरपालिकाले विशेष चासो राखेको छ । राजधानी काठमाडौंबाट ६७ किलोमिटर दुरीमा रहेको सुकुटेलाई व्यवस्थित बनाउँदै अझै पर्यटकको आकर्षण बढाउने उदेश्यले नगरपालिकाले शुक्रबार सरोकारवाला निकायसँग अन्तरकृया गरेको छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य माधब सापकोटा सुबोधले सुकुटेले सिन्धुपाल्चोकको थप प्रचार गरिरहेको बताउनुभयो । यस क्षेत्रमा सञ्चालित होटल व्यावसायलाई २४सैं घण्टा सञ्चालन गर्ने वातावरण बनाउन पहल गर्नेु पर्ने उहाँले बताउनुभयो । बागमती प्रदेससभा सदस्य सरलसहयात्री पौडेलले पनि अरनिको राजमार्गमा पर्ने सुकुटेले पर्यटकीय र धार्मिक दुबै महत्व बोकेको उल्लेख गर्नुभयो ।

यो क्षेत्रमा अरनिको र भृकुटीको प्रतिमासहितको पार्क निर्माण गर्नसके ऐतिहासिक महत्वलाई समेत जिवित राख्न मद्दत पुग्ने बताउनुभयो । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले नगरभित्रको समग्र क्षेत्रको विकासमा आफ्नो ध्यान गएको बताउनुभयो । सुकुटे बजारलाई अझै व्यवस्थित गर्दै पर्यटकीय हवको रुपमा विकास गर्ने नगरपालिकाले विशेष योजना ल्याउने उल्लेख गर्नुभयो ।

पर्यटन सँगसँगै वातावरण स्वच्छ बनाउन फोहोर व्यवस्थापनमा व्यावसायीहररु पनि जिम्मेवार हुनुपर्नेमा मेयर सापकोटाको भनाइ छ । व्यवसायी महेन्द्र थापाले सुकुटे आउने पर्यकलाई कालीमाटीको तरकारी किनेर खुवाउनुपर्ने बाध्यता रहेको बताउनुभयो । सुकुटेको पहिचानको लागि स्थानीय उत्पादनमा जोड दिन आवश्यकता रहेको उहाँको भनाइ छ । कुक, वेटर, लेखा ब्यवस्थापनसम्बन्धी तालिम स्थानीय तहले दिएर स्थानीय स्तरमा दक्ष कर्मचारी उत्पादन गर्नुपर्ने ब्यवसायीको जोड छ ।