जनता टाइम्स

२ पुष २०७९, शनिबार १४:११

राष्ट्रपतिमा कांग्रेसले कसैसँग संझौता नगर्ने उपसभापति खडकाको अडान


काठमाडौं, पुस २ । नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले राष्ट्रपतिका विषयमा कांग्रेसले कसैसँग सम्झौता नगर्ने र गर्न नहुने बताउनु भएको छ । उपसभापति खडकाले आज सामाजिक सञ्जालमार्फत यस्तो बटमलाइन सुनाउनु भएको हो ।

सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उपसभापति खड्काले राष्ट्रपतिका विषयमा भइरहेका चर्चाले गम्भीर बनाएको उल्लेख गर्नुभएको छ ।
खड्काले देश, जनता र संविधानसभाले बनाएको संविधानप्रति दिल दिमागदेखि पूर्ण रुपमा प्रतिबद्ध व्यक्ति मात्र राष्ट्रपति बन्न सक्ने समेत प्रष्ट पार्नुभएको छ ।

केही दिन यता नयाँ राष्ट्रपतिका विषय विभिन्न व्यक्तिले दौडधुप बढाइरहेका समाचार आइरहेका छन । यसै बिषयमा उपसभापति खडकाले कांग्रेसको बटमलाइन सुनाउनु भएको हो ।

उहाँले भन्नुभएको छ, ‘राष्ट्रपति को बन्ने भन्ने चर्चाले गम्भिर बनायो । मेरो प्रष्ट धारणा छ, राष्ट्रपति– देश, जनता र संबिधानसभाले बनाएको संविधानप्रति दिल–दिमागदेखि पूर्ण रुपमा प्रतिबद्ध भएको ब्यक्ति बन्नुपर्छ । यो कुरामा नेपाली काँग्रेस पार्टी कसैसंग सम्झौता गर्न सक्तैन, गर्नु हुँदैन ।

उपसभापति खडकाको यो भनाईसँगै कांग्रेसले सत्ता गठबन्धनलाई राष्ट्रपति र प्रधानमन्त्री दुवै पद आफै राखेर मन्त्री र अन्य पदमा भागबण्डा गर्ने प्रष्ट बटमलाइन बनाएको तथ्य उजागर भएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पुनः प्रधानमन्त्रीका लागि योजना बनाइ रहनुभएको छ भने राष्ट्रपतिसमेत कांग्रेस आफैले राख्ने योजना खडकाले खोल्नुभएको छ ।