जनता टाइम्स

२ पुष २०७९, शनिबार १७:३६

प्रचण्डको प्रस्तावले झस्किए देउवा


काठमाडौं, पुस २ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीमा सघाउन कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग औपचारिक प्रस्ताव राख्नुभएको छ । प्रचण्डको चेतावनीपूर्ण शैलीमा ‘दाँयाबाँया होइन, प्रधानमन्त्री बन्ने पालो मेरो हो’ भन्ने अडान राखेपछि प्रधानमन्त्रीदेउवा झस्किनु भएको छ ।

आफूले नै प्रधानमन्त्री बनाएको कारण अवको पहिलो कार्यकालको प्रधानमन्त्रीका लागि आफू तयार भएको भन्दै प्रचण्डले आज देउवासामू औपचारिक प्रस्ताव गर्नुभएको हो । सत्ता गठबन्धन कायमै राखेर अगाडि बढनका लागि अव प्रधानमन्त्रीमा दोस्रो ठूलो दलको हैसियतले आफूबाहेक अन्य ब्यक्तिको बिकल्प नरहेको निश्कर्षसमेत प्रचण्डले सुनाउनु भएको छ ।

कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा माओवादी दोस्रो ठूलो दल हो । सोही आधारमा प्रचण्डले देउवा प्रधानमन्त्री बनिसकेकोले अव आफ्नो पालो रहेको अडान राख्नुभएको छ ।

आफैँ प्रधानमन्त्री बन्ने तयारीमा रहनु भएका देउवालाई भेटेर प्रचण्डले प्रधानमन्त्रीमा आफ्नो दाबी रहेको औपचारिक जानकारी गराए पनि देउवाले ठोश जवाफ नदिएको बालुवाटार स्रोतले जनाएको छ । ‘प्रचण्डजीले आफूलाई प्रधानमन्त्री बनाउन प्रधानमन्त्रीसँग औपचारिक प्रस्ताव गर्नुभयो । तर प्रधानमन्त्रीले कुनै जवाफ दिनुभएन,’ बैठकबारे देउवा निकट एक नेताले जनताटाइम्स डटकमसँग भने । ती नेताका अनुसार भेटमा देउवाले आफै तयारीमा रहेको संकेत भने गर्नुभएको छ ।

प्रधानमन्त्री देउवा सत्ता गठबन्धनमा माओवादीलाई सभामुख र नेकपा एकीकृत समाजवादीलाई उपसभामुख दिएर राष्ट्रपति र प्रधानमन्त्री कांग्रेसबाटै लिने गृहकार्यमा हुनुहुन्छ ।

देउवाकै किचन क्याबिनेट सदस्य उपसभापति पूर्णबहादुर खडका भने देउवालाई राष्ट्रपति र पहिलो कार्यकालको प्रधानमन्त्री प्रचण्डलाई बनाएर दोस्रो कार्यकालको प्रधानमन्त्री आफू हुने आन्तरिक गृहकार्यमा रहनुभएको छ । खडकाले यस्को तयारीसमेत अघि बढाउनु भएको छ । तर देउवा आफूपछि पत्नी आरजु राणा देउवालाई प्रधानमन्त्री बनाउने योजनामा हुनुहुन्छ । सो कामका लागि पार्टी सत्ता आफैमा रहनुपर्ने निश्कर्षसहित प्रधानमन्त्री आफू बन्ने देउवाको योजना छ ।

सोही योजनाअनुसार आज प्रचण्डले औपचारिक प्रस्ताव राख्दासमेत देउवाले ‘पार्टीमा कुरा राख्ने’ भन्दै टारिदिनु भएको छ । निर्वाचन अघि भने देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाउने आश्वासन दिनुभएको थियो । माओवादी अध्यक्ष प्रचण्ड एक सातादेखि प्रधानमन्त्री बन्ने तयारीमा लाग्नुभएको छ । उहाँले सोहीअनुसारको गृहकार्य अघि बढाउँदै आज देउवासँग औपचारिक अडान राख्नुभएको हो ।

यता छैटौं पटक प्रधानमन्त्री बन्ने तयारीमा रहेका कांग्रेस सभापति देउवा, प्रचण्डको प्रस्तावले झस्किनुभएको छ । वर्तमान सत्ता गठबन्धनका तर्फबाट प्रधानमन्त्री बन्ने तयारी गरिरहेका देउवा पनि एमाले–माओवादी केन्द्रबाहेक सरकार बनाउने विकल्पबारे समेत देउवाले छलफल अघि बढाउनु भएको छ ।