जनता टाइम्स

३ पुष २०७९, आईतवार १३:०५

अहिलेको अवस्थामा एमाले सरकारमा जान हुँदेन : गोकर्ण विष्ट


बुटवल, ३ पुस । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले अहिलेको अवस्थामा एमाले सरकारमा जान नहुने बताउनुभएको छ । निर्वाचन परिणामबाट एमाले दोस्रो ठूलो दल बनेकाले एमालेले प्रतिपक्षमै रहेर जनताका मुद्दालाई उठाउनुपर्ने उहाँको भनाइ छ ।

आज बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै एमाले सचिव विष्टले सबभन्दा ठूलो दल काँग्रेसले सरकार गठन गर्न सकेन भने मात्र एमाले अघि सर्नुपर्ने आवश्यकता औंल्याउँदै तत्काल एमालेका निम्ति सरकार प्राथमिकताको विषय नभएको बताउनुभयो ,। समानुपातिक मतपरिणाममा एमाले पहिलो दल बने पनि प्रत्यक्षको परिणामका आधारमा दोस्रो दल बनेकोले आगामी पाँच वर्ष प्रतिपक्षमै रहेर लोकतन्त्र, सामाजिक रुपान्तरण र विकासका मुद्दालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

‘जनताले एमालेलाई प्रतिपक्षमा बस्ने जनताको म्याण्डेट दिएका छन् । त्यसैले सत्तामा बस्नका लागि अवान्छित गतिबिधि गर्ने पक्षमा हामी छैनौ, सरकार निर्माणका लागि एमालेलाई हतारो छैन । तर, बाध्यात्मक परिस्थिति आयो भने लोकतान्त्रिक मूल्य मान्यताअनुसार नेतृत्व लिन पहल पनि गर्छौं,’ विष्टले भन्नुभयो । यो निर्वाचनले वाम आन्दोलन, राष्ट्र र जनताको हितको लागि महत्वपूर्ण सन्देश दिएको उहाँले बताउनुभयो ।

एमालेलाई कमजोर बनाउन चौतर्फी घेराबन्दी भए पनि जनताले एमालेलाई समानुपातिकमा पहिलो पार्टीको रुपमा अनुमोदन गरेको भन्दै मतदातालाई धन्यवाद दिनुभयो । वाम पार्टीको नामबाट राष्ट्रिय स्वाधिनताको हितविपरीत लाग्ने तथा दक्षिणपन्थीसँग गठबन्धन गर्नेहरूसँग गठबन्धन गरेर सरकार बनाउन आफूहरू नलाग्ने उहाँले बताउनुभयो ।

चुनावबाट कसैको बहुमत नआएकाले आउँदो पाँच वर्ष मुलुकमा अस्थिरता भइरहने र अर्थतन्त्र संकटमा पर्नसक्ने भन्दै एमालेले जिम्मेवार प्रतिपक्षको भूमिका खेल्ने विष्टले बताउनुभयो ।

बिष्टले एमालेको भूमिका कमजोर बनाउन चौतर्फी घेराबन्दी गरिए पनि जनताले एमालेलाई समानुपातिकमा पहिलो पार्टीको रुपमा अनुमोदन गरेको बताउनुभयो । उहाँले वाम पार्टीको नामबाट राष्ट्रियता, स्वतन्त्रता, स्वाधिनताको अपमान गर्ने, समृद्धिको हितविपरीत लाग्ने तथा दक्षिणपन्थीसँग गठबन्धन गर्नेहरुसँग गठबन्धन गरेर सरकार बनाउन आफूहरु नलाग्ने बताउनुभयो ।