जनता टाइम्स

३ पुष २०७९, आईतवार १५:२०

मनकामना बन्यो डिजिटल बजार, हरेक पसलमा क्यूआरमार्फत भुक्तानीको ब्यवस्था


गोर्खा, पुस ३ । प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र मनकामना बजार डिजिटल बजारका रुपमा स्थापीत भएको छ । योसँगै अबदेखि मनकामना मन्दिरसँगै मनकामना क्षेत्रका कुनै पनि पसलमा क्यूआरमार्फत भुक्तानी गर्न सकिनेछ ।

शुक्रबार एक कार्यक्रबीच मनकामना बजारलाई डिजिटल बजारका रुपमा घोषणा गरिएको हो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं भुक्तानी प्रणाली विभाग प्रमुख गुरु प्रसाद पौडेलले मनकामना बजारलाई डिजिटल बजारका रुपमा उद्घाटन गर्नुभयो । एनएमबी बैंक र फोनपेको सक्रियतामा डिजिटल बजारका रुपमा घोषणा गरिएको हो ।

डिजिटल बजार घोषणा कार्यक्रममा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा, शहिदलखन गाउँपालिका, मनकामना क्षेत्र विकास समिति, मनकामना जिर्णद्धार समिति, मनकामना मन्दिरका मुल पुजारी, उद्योग वाणिज्य संघ इकाइ समिति, खानेपानी तथा सरसफाइ समिति, माई मनकामना बचत तथा ऋण सहकारी संस्था साना किसान बचत तथा ऋण सहकारी संस्थालगायत स्थानीय व्यवसायी तथा समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक हो । फोनपेको सेवा हाल सातै प्रदेशका सबै स्थानीय तहका सबै वडामा पुगिसकेका छन । फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्बाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ ।

यसैगरी फोनपे डाइरेक्ट मार्फत् मोबाईल नम्बर राखि कुनैपनि बैंकको बैंक खातामा रकम पठाउन सकिन्छ भने विभिन्न किसिमका सेवाको रकम भुक्तानी गर्न सकिन्छ । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन् । यस्तै फोनपेमा हालसम्म करिब १० लाख भन्दा धेरै मर्चेन्ट रहेका छन् । एक करोड ५० लाखभन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्समार्फत फोनपेले सेवा पुर्याउँदै आएको फोनपे पेमेन्ट सर्विस लिमिटेडले जनाएको छ ।