काठमाडौं, पुस ३ । नेपाली कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतले सत्ता गठबन्धनबाट प्रधानमन्त्री शेरबहादुर देउवा नै पुनः प्रधानमन्त्री बन्ने उदघोष गर्नुभएको छ ।
केन्द्रीय कार्य सम्पादन समितिको बैठकका निर्णय सुनाउदै प्रवक्ता महतले गठबन्धनभित्र ज–जस्ले प्रधानमन्त्रीको दावी गरे पनि देउवा नै प्रधानमन्त्री बन्ने बताउनु भएको हो । सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नै प्रधानमन्त्री हुनुपर्ने अडान राख्नुभएको छ ।
प्रचण्डले देउवासँगको छलफलमै यस्तो अडान राख्नुभएको हो । तर कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री स्वीकार नगर्ने प्रष्ट संकेत गरेको छ । प्रवक्ता महतले केन्द्रमा पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने र प्रधानमन्त्रीमा शेरबहादुर देउवाको विकल्प नरहेको बताउनु भयो ।
कांग्रेस प्रवक्ता महतले भन्नुभयो, ‘प्रधानमन्त्रीमा माओवादी अध्यक्ष प्रचण्डको दाबी स्वाभाविक भए पनि प्रधानमन्त्री देउवा नै बन्नुहुन्छ, उहाँको दावी मात्रै हो ।’
महतले ढिलोमा बुधबारसम्म संसदीय दलको नेता चयनको प्रक्रिया टुंगिने जानकारी पनि दिनुभयो । उहाँले पार्टीभित्र र बाहिर सबैले स्वीकार गर्ने तथा समन्वय गर्ने नेतृत्व आवश्यक परेकाले देउवालाई सर्वसम्मत नेता चयन गर्नुपर्ने पनि बताउनु भयो ।
सरकार गठनका लागि राष्ट्रपति बिद्यादेवी भण्डारीले आजै ७ दिनको समयसीमा तोकेर दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाई प्रधानमन्त्रीको दावी पेश गर्न आह्वान गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्