जनता टाइम्स

३ पुष २०७९, आईतवार १८:०७

कांग्रेसलाई प्रचण्डको चेतावनी : सत्ता गठबन्धन जोगाउने हो भने मलाई प्रधानमन्त्री बनाउनोस


काठमाडौं, पुस ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री स्वीकार नगरे सत्ता गठबन्धन टुटने चेतावनी दिनुभएको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको दुत बनेर आफ्नै निवास खुमलटारमा भेटन आएका कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई प्रचण्डले यस्तो चेतावनीपूर्ण निर्णय सुनाउनु भएको हो ।

कांग्रेसको पदाधिकारी बैठक अघि आज उपसभापति खडकाले प्रचण्डलाई भेट गर्नुभएको थियो । भेटमा जनमतका आधारमा कांग्रेसले प्रधानमन्त्री छाडन नमिल्ने भएकोले देउवा नै प्रधानमन्त्री बन्ने भन्दै सहयोग गर्न खडकाले आग्रह गर्नुभएको थियो । तर जवाफमा प्रचण्डले चेतावनीपूर्ण निर्णय नै सुनाउनु भएको हो ।

चुनावअगावै देउवाले आफूलाई पहिलो कार्यकालको प्रधानमन्त्री बन्ने सहमति जनाएको भन्दै प्रचण्डले अव धोका भए ठिक नहुने चेतावनी दिनुभएको छ । खडकासँगको भेटमा प्रचण्डले वर्तमान सत्ता गठबन्धन जोगाउन कांग्रेसले आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्नुपर्ने अडान राख्नुभएको छ ।

‘वर्तमान सत्ता गठबन्धन जोगाउने हो भने मलाई प्रधानमन्त्रीमा सहयोग गर्नाेस, हामीबीचको सहमतिअनसार पनि अवको प्रधानमन्त्री म नै हो
अव म नै पहिलो कार्यकालको प्रधानमन्त्री बन्नुपर्छ,’ खडकालाई प्रचण्डले दिएको बटमलाइन उधृत गर्दै स्रोतले भन्यो ।

प्रचण्ड आक्रोशित रुपमा प्रस्तुत भएपछि भेटमा खड्काले आफू दूतका रुपमा मात्रै आएको भन्दै सान्त बनाउने प्रयाश गर्नुभएको खुमलटार स्रोतको भनाई छ । ‘आफ्नो नेतृत्वमा सरकार गठन हुने र त्यसका लागि सहयोग गर्न प्रचण्डलाई आग्रह गर्ने’ सभापति देउवाको प्रस्ताव लिएर आएको बताउनु भएको थियो ।

प्रचण्डले शनिबार प्रधानमन्त्री देउवालाई भेटेर आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न आग्रह गरेपछि देउवाले आज खडकालाई निवासमै पठाउनु भएको हो । कांग्रेस उपसभापति खडका भने देउवा प्रधानमन्त्री भन्दा राष्ट्रपति बन्नुपर्ने र पहिलो चरणको प्रधानमन्त्री प्रचण्ड र दोस्रो कार्यकालको प्रधानमन्त्री आफू बन्ने भित्रि लबिङमा हुनुहुन्छ । प्रचण्डसँगको भेटमा खडकाले यो कुरा बताउनु भएको स्रोतको दावी छ ।