जनता टाइम्स

४ पुष २०७९, सोमबार १३:३७

नेपालमा इन्धनको मूल्य घटाउन सक्ने अवस्था छैन : आयल निगम


काठमाडौं, ४ पुस । नेपाल आयल निगमले मूल्य समायोजन गर्दा इन्धनको मूल्य घटाउन भने आलटाल गरेको देखिन्छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूचीअनुसार नेपालमा हरेक १५/१५ दिनमा मूल्य समायोजन गर्ने गरिन्छ । आइओसीले मूल्य बढाएर पठाएमा इन्धनको मूल्य बढाउने र घटाएर पठाएमा घटाउने गरी मूल्य समायोजन गर्नुपर्ने हो । तर, निगमले भने यसविपरीत मूल्य समायोजन गर्ने गरेको देखिन्छ ।

नेपाल आयल निगमले गत शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाएको छ । आइओसीबाट पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाइ इन्धन १० रुपैया ६१ पैसा मूल्य घटेर आएको थियो । तर, निगमले भने ५० प्रतिशतभन्दा बढी कम गरेर मूल्य समायेजन गरेको हो । भारतबाट घटेर आएअनुसार निगमले मूल्य समायेजन नगरेको यो पहिलो पटक भने होइन ।

आफूलाई घाटामा देखाउँदै निगमले उचित मूल्य समायोजन नगर्ने गरेको आरोप लाग्दै आएको छ । आइओसीले मूल्य बढाएर पेट्रोलियम पदार्थ पठाउँदा नेपालमा भाउ बढाउने निगमले मूल्य घटेर आउँदा घटाएको देखिँदैन । यदी घटाइ हाल्नु पर्दा पनि निकै कम घटाउने गरेको उपभोक्ताहरु बताउँछन् । पाँच महिनादेखि निगमले उचित मूल्य समायोजन गरेको नगर्दा जनताले सास्ती भोग्नु परको उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव विष्णुप्रसाद तिमिल्सिनाले बताउनुभयो ।

उहाँले निगमलाई अमुक बैंकबाट ऋण लिनु भनेको सरकार र निगमबीचको चलखेलले समयमै उचित मूल्य समायोजन हुन नसकेको आरोप लगाउनुभयो । वैज्ञानिक ढंगबाट मूल्य समायोजन गर्नुपर्नेमा जोड दिँदै महासचिव तिमिल्सिनाले भन्नुभयो,‘पेट्रोलियम पदार्थको मूल्य बढ्दा बढाइदेउ, घट्दा पनि घटाइदेउ । यसो गर्दा उपभोक्ता मारमा पर्ने छैनन् ।’

निगमले हवाइ इन्धनमा पनि अत्याधिक नाफा लिइरहेको उहाँको दाबी छ । सरकारले जनतालाई भ्याट र ब्याजको नामा ठगी गरिरहेको उहाँको भनाइ छ । कमिसन र अनावश्यक सुविधा लिने संस्था र कर्मचारीको कायैशैली परिवर्तन नभए अझै उपभोक्ताले महंगी र असमान मूल्यको सामना गर्नुपर्ने महासचिव तिमिल्सिनाको भनाइ छ ।

उहाँले भारतबाट पेट्रोलियम पदार्थ मूल्य घटेर आउँदासमेत निगमले मूल्य घटाएर समायोजन नगर्नुको कारण सरोकारवालासँग जवाफ माग्नुभयो । मूल्य घटेर आउँदा पनि निगम घाटामा रहेको बहाना देखाएर मूल्य समायोजन नगर्दा मुनाफा जति सबै राज्यको कोषमा जम्मा भइरहेको उहाँको आरोप छ ।

तर, नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले निमगमाथि लगाएको आरोप अस्वीकार गर्नुभएको छ । मूल्य समायोजन गर्दा कुनै पनि चलखेल नभएको दाबी गर्दै उहाँले भन्नुभयो, ‘निगमले कुनै किसिमको चलखेल गरेको छैन । हामी शतप्रतिशत पारदर्शी रुपमा मूल्य समायोजन गरेका छौँ । ’निगम अझै २० अर्ब बढी ऋणभारमा रहेको भन्दै उहाँले आवश्यकताअनुसार मूल्य घटाउन भने नसकेको स्वीकार्नुभयो ।

‘जति मूल्य घटाउनु पर्ने हो, त्यति मूल्य निगमले घटाउन सक्ने अवस्थामा अझै आइपुगेको छैन,’ उहाँले भन्नुभयो । गत ६ महिनाअघि पेट्रोल र डिजेलको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । त्यस बेलादेखि नै पेट्रोलियम पदार्थक मूल्य आकासिएको थियो । निगमले गत ८ जेठमा सार्वजनिक गरेको विज्ञप्तिअनुसार ३ अर्ब ३५ करोडभन्दा बढी घाटा रहेको थियो ।

सोही मितिदेखि गत शुक्रबारसम्म निगमले भारतबाट ११७ रुपैयाँ १८ पैसामा खरिद गरेको पेट्रोललाई १८०, डिजेल र मट्टितेल १६३ रुपैयाँमा बेचिरहेको थियो । त्यस दिनदेखि नै पेट्रोल १८०, डिजेल र मट्टितेल १६३ मूल्य निगले तोकेको थियो । जेठ यता पनि भारतबाट मूल्य घटेर आउँदा निगमले मूल्य नघटाइ बेचिरहेको थियो । भारतले गत मंसिर १५ गते पठाएको मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ, डिजलमा ५३ पैसा, मट्टितेलमा ३५ रुपैयाँ र हवाइ इन्धनमा ४२ रुपैयाँ १६ पैसा नाफा हुँदा पनि निगमले मूल्य घटाएन ।