काठमाडौं, पुस ४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वसहमतिबाट प्रधानमन्त्री शेरबहादुर देउवाले धोका दिएको निश्कर्ष निकाल्नु भएको छ । जनादेशअनुसार राष्ट्रपति र प्रधानमन्त्री कांग्रेसबाटै हुनुपर्ने बटमलाइन देउवाले सुनाएको भन्दै दुई नेताले धोका भएको निश्कर्ष निकाल्नु भएको हो ।
प्रधानमन्त्री देउवाले आफै प्रधानमन्त्री हुने अडानसहित सभामुखको नाम मागेपछि चिढिनुभएका प्रचण्ड आज नेपालसँग भेट गर्न उहाँकै निवास कोटेश्वर जानुभएको हो । भेटमा दुवै नेताले देउवाले धोका दिएको निश्कर्ष निकालेको एक नेताले जनताटाइम्स डटकमलाई बताए । ‘तीन जना नेताबीच आलोपालो प्रधानमन्त्री हुने चुनाव अघिकै सहमति हो, तर चुनावपछि प्रधानमन्त्रीले अपमान गर्नुभएको कुरा दुवै अध्यक्षले सुनाउनु भएको छ, प्रधानमन्त्रीले धोका दिएको निश्कर्ष पनि उहाँहरुको छ,’ भेटबारे नेकपा एकीकृत समाजवादीका एक नेताले भने ।
सत्ता गठबन्धनबाटै पहिलो कार्यकालको प्रधानमन्त्री बन्ने योजनामा रहनुभएका माओवादी अध्यक्ष प्रचण्ड देउवाले नछाडने भएपछि नेपालसँग संभावित गठबन्धनको बिषयमा छलफल गर्न कोटेश्वर पुग्नुभएको थियो । केही दिनदेखि राजनीतिक भेटवार्तालाई तीव्रता दिनुभएका प्रचण्डले आज नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाललाई भेटनु भएको हो ।
भेटमा आगामी सत्ता समीकरणका विषयमा छलफल केन्द्रित भएको स्रोतले जनाएको छ । गत शनिबार प्रचण्डले कांग्रेस सभापतिसमेत रहनु भएका प्रधानमन्त्री देउवालाई भेटेर प्रधानमन्त्रीमा आफ्नो दावेदारी प्रस्तुत गर्नुभएको थियो । तर देउवाले प्रधानमन्त्री आफै हुने र राष्ट्रपतिसमेत कांग्रेसबाटै हुने सन्देश उपसभापति पूर्णबहादुर खडकामार्फत पठाउनु भएको थियो ।
यस्तै कांग्रेसको आइतबारको पदाधिकारी बैठकले पनि कांग्रेसकै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । प्रचण्ड र माधवबीच आज भएको भेटमा कांग्रेसले धोका दिएकोले कांग्रेस बाहेकको सत्ता समीकरण बनाउने बारे समेत छलफल भएको छ । प्रचण्डले देउवासँग पहिलो कार्यकाल आफू प्रधानमन्त्री बन्ने, दोस्रो कार्यकाल कांग्रेस र चुनावी सरकारको नेतृत्व नेपालले गर्ने गरी प्रस्ताव गर्नुभएको थियो । तर सो प्रस्तावपछि देउवा प्रचण्डसँगै चिढिनुभएको छ ।
देउवा प्रधानमन्त्री छाडन तयार नरहेकोले के गर्ने भन्ने बिषयमा दुई नेताले छलफल गरेको दुवै दलका नेताहरुको भनाई छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सातदिनको समयसीमा राख्दै सरकार गठन गर्न आह्वान गरिसक्नु भएको छ । संबिधानको धारा ७६ को २ अनुसार पुस १० गते ५ बजेभित्र दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतको प्रधानमन्त्रीमा दावी पेश गर्नूपर्नै समयसीमा रहेको छ । तर सत्ता गठबन्धनमा कुनै सहमति जुटन सकेको छैन ।













प्रतिक्रिया दिनुहोस्