जनता टाइम्स

२५ श्रावण २०७६, शनिबार १३:३२

कश्मिर मुद्दामा भारतबिरुद्ध पाकिस्तानको मोर्चावन्दी, चीनले गर्यो सघाउने प्रतिवद्धता


काठमाडौं, साउन २५ । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेशी चीनको राजधानी वेइजिंग पुगेका छन् । भारतले भारत प्रशासित कश्मीरको अनुच्छेद ३७० हटाएपछि पाकिस्तानी बिदेशमन्त्री चिनिया सहयोगको अपेक्षासहित बेइजिङ पुगेका हुन ।

भारत सरकारको कदमपछि भारत र पाकिस्तानबीचको सम्बन्ध झन् खराव भएको छ । पाकिस्तानले भारतको कदमको कडा प्रतिवाद गर्दै अन्तराष्ट्रिय फोरममा उठाउने बताउनुका साथ भारतबिरुद्ध कठोर कदम चालेको छ । यही बला पाकिस्तानी बिदेशमन्त्री कुरैशी अपर्झट चीन भ्रमणमा गएका हुन् । विदेशमन्त्री कुरैशीले चिनियाँ विदेशमन्त्री वाङ यीसंग द्धिपक्षिय भेटवार्ता गर्नुका साथै कश्मिर मामलाबारे छलफल गरेका छन् ।

भारत सरकारले लद्दाखलाई केन्द्र शासित प्रदेश बनाएपछि चीनसमेत भारतसंग असन्तुष्ट बनेको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले दक्षिण पश्चिम चीनको भूभागलाई समेत आफ्नो अधिकार क्षेत्रभित्र पार्ने गरी तयार पारेको लद्दाख युनियन टेरिटोरीप्रति आपत्ति जनाइसकेकी छन । उनले वेइजिङमा पत्रकार सम्मेलन गरी चीन र भारत सीमा क्षेत्रको पश्चिमी भागको चिनियाँ भूखण्डलाई भारत शासित क्षेत्रको परिधिमा राखेकोमा चीनले उहिल्यैदेखि विरोध गर्दै आइरहेको प्रष्ट पारिन ।

‘कस्मिरबारे हाम्रो अडान दृढ र निरन्तर एउटै छ, त्यो कहिलै पनि परिवर्तन हुंदैन । भारतीय पक्षले चीनको भौगोलिक सार्वभौमिकतालाई लत्याउने गरी एकपक्षीय रुपमा गरेको घरेलु कानुनको परिमार्जन चीनलाई स्वीकार्य छैन,’ चीनको आधिकारिक धारणा सार्वजनिक गर्दै प्रवक्ता चुनयिङको भनाई थियो । चीनको यस्तो धारणा आएलगत्तै पाकिस्तानी विदेशमन्त्री वेइजिङ पुगेका हुन । उनले भारतको आक्रमक व्यवहारले कश्मिरका जनतालाई खतरामा राखेको आरोपसमेत लगाएका छन् ।

पाक बिदेशमन्त्रीलाई चिनियाँ समकक्षी वाङले पाकिस्तान र चीनबीच भाइचाराको सम्बन्ध भएको भन्दै पाकिस्तानलाई सहयोगको प्रतिवद्धता जनाएका छन । विदेशमन्त्री कुरैशीले पाकिस्तान शान्ति र स्थिरता कायम गर्नुपर्ने पक्षमा भएकोले यसमा चीनको समर्थन रहेको र दुवै मुलुक मिलेर कश्मिरका जनताको आवाजलाई दुनियांको अगाडि ल्याएर छोड्ने घोषणा बेइजिङबाटै गरेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन ।

चिनियां समाचार संस्था सिन्हाले पाकिस्तानी विदेशमन्त्रीको भ्रमणलाई विशेष र इमर्जेन्सी भ्रमणको संज्ञा दिएको छ । सिन्हाका अनुसार पाकिस्तानी विदेशमन्त्रीसंगको भेटमा चिनियाँ विदेशमन्त्री वाङले कश्मिर मुद्दा संयुक्त राष्ट्रसंघको वडापत्र, सुरक्षा परिषदको प्रस्ताव र भारत पाकिस्तानको वीचमा भएका द्धिपक्षिय सम्झौताअनुसार शान्तिपुर्ण रुपमा समाधान हुनुपर्ने धारणा राखेका छन् । चीन र पाकिस्तान सदावाहर रणनैतिक साझेदार भएको भन्दै बिदेशमन्त्री वाङले सधै एक अर्काका मुल मुद्दामा दुवै देशको सहयोग रहने धारणासमेत राखेका छन ।

विदेशमन्त्री वांङले पाकिस्तानको सुरक्षा र वैधानिक अधिकारको लागि चीनले अन्र्तराष्ट्रिय मुद्दामा समेत चीनले सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन । उनले भारत र पाकिस्तान दुवै चीनको लागि मित्र राष्ट्र भएको भन्दै दक्षिण एसियाको शान्ति र विकासका लागि सहकार्य र संवाद आवश्यक भएको बताएका छन् । (एजेन्सीको सहयोगमा)