बुटवल, ८ पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र आन्तरिक पर्यटन बढावा दिने उद्देश्यका साथ रेल यातायातबाट जोड्न तिलोत्तमा ट्राम रेलको शिलान्यास गरिएको छ । एक समारोहका बीच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले रेलको शिलान्यास गरेका हुन् । तिलोत्तमा नगरपालिकाको गौरवको आयोजनाका रुपमा अगाडि सारेको उहाँले बताउनुभयो ।
यो तिलोत्तमा नगरबासीको समग्र साथ र सहयोगमा परियोजना सम्पन्न हुने आशा उहाँले व्यक्त गर्नुभयो । तिलोत्तमा नगरमा नगर विकास कोषले एक हजार बिघामा नयाँ सहर विकास गर्ने कामसमेत अघि बढिरहेको उहाँले बताउनुभयो । धेरै परियोजनाहरु नगरमा संचालन भइरहेको उहाँले बताउनुभयो ।
तिलोत्तमा पब्लिक रेल्वे कम्पनी लिमिटेडका अध्यक्ष हरि तिवारीले समुदाय, स्थानीय पालिका र एडीबीलगायत दातृ निकायहरूको सहयोगमा परियोजना चलाउन लागेको बताउनुभयो । एक वर्षभित्र चार किलोमिटरको तयारी पूरा गरेर संचालन हुने उहाँले बताउनुभयो । लुम्बिनी प्रदेश सरकारबाट प्राप्त १५ लाख रुपैयाँबाट डिपिआर तयार गरिएको उहाँले जानकारी दिनुभयो । रेल्वेका प्रबन्ध निर्देशक भोला शर्माले एक वर्ष ढिलाई भएको बताउनुभयो ।
कुल आठ अर्ब लागतमा ५० किलोमिटरको रेल सेवा संचालन हुनेछ । श्रोत पहिचान गरी आवश्यक पहल अगाडि बढाईएको उहाँले बताउनुभयो । प्रदेश र नगरपालिकाबाट ५१ प्रतिशत र जनताबाट बाँकी लगानीको तयारी रहेको उहाँले बताउनुभयो । चक्रपथको ४३ फिट भित्री बाटोको छेउँमा जोडेर १४ फिट भागमा ट्राम रेल संचालन हुने उहाँले बताउनुभयो ।
यो विद्युतबाट चल्ने र ७० जना चढ्न मिल्ने लाईट रेल्वे भएको उहाँले बताउनुभयो । रेल सेवामा दैनिक ३० हजार, ८ लाख मासिक र वर्षमा एक करोड मानिसले सेवा लिने तथा यसबाहेक सामान ढुवानी लगायतको समेत सेवा दिन सकिने सम्भावना रहेको उहाँले बताउनुभयो । यसबाट वार्षिक एक अर्ब १० करोड आम्दानी गर्ने र खर्च कटाएर एक अर्ब बचत हुने उहााले दाबी गर्नुभयो । परियोजना सुरु भएपछि एक सय जना स्थायी कर्मचारीले रोजगार पाउने छन् ।
६ वटा ट्राम टाईगर प्यालेस, ६ वटा ट्राम रोहिणीतर्फ चल्ने उहाँले बताउनुभयो । एक दिनमा एउटा ट्राममा एक पटकमा २५ सय चढ्ने सक्ने उहाँले बताउनुभयो । पहिलो चरणमा चक्रपथ सकेपछि बाँकी हाईवेलाई जोड्ने गरी स्तरवृद्धि र विकास गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । रेल्वेमा ५५० जना संस्थापक सदस्य रहेको उहाँले बताउनुभयो । कार्यक्रममा सचिव डिल्लीनारायण पाण्डेले देशकै नमुना रेल्बे संचालन गर्न आफुहरु आतुर रहेको बताउनुभयो ।












प्रतिक्रिया दिनुहोस्