जनता टाइम्स

९ पुष २०७९, शनिबार १५:३७

कांग्रेसलाई प्रचण्डको धम्की : प्रधानमन्त्री नपाए गठबन्धन तोडेर एमालेसँग मिल्छौं


काठमाडौं, पुस ९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले गठबन्धनबाट आफूले प्रधानमन्त्री नपाए गठबन्धन तोडेर नेकपा एमालेसँग मिल्ने धम्की दिनुभएको छ ।

चुनावमा सवैभन्दा ठूलो दल भएको तथ्यलाई महसुस गरी शेरबहादुर देउवालाई नै पहिलो कार्यकालको प्रधानमन्त्री बनाउन र आफूलाई राष्ट्रपतिमा समर्थन गर्ने प्रस्तावसहित आज बिहान निवासमै भेटन आउनु भएका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग प्रचण्डले यस्तो धम्की दिनुभएको हो ।

खुमलटार स्रोतले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको सपनासमेत नदेखेका देउवालाई आफूले नै प्रधानमन्त्री बनाइ दिएको र चुनावपछिको पहिलो कार्यकाल आफू प्रधानमन्त्री हुने सहमति भएको भन्दै देउवाले सहमति तोडे गठबन्धन नै तोडेर नेकपा एमालेसँग मिल्ने बताउनु भएको छ । दुवै पार्टी कम्युनिष्ट नै भएकोले मिल्न कुनै समस्या नहुने तर्कसमेत उहाँले गर्नुभएको थियो ।

‘मेरै कारण अहिले शेरबहादुर देउवा प्रधानमन्त्री बन्न पाएको हो, अब उहाँ होइन, नेकपा माओवादीले पालो पाउनुपर्छ, यो हाम्रो प्रष्ट कुरा हो,’ पौडेलले प्रचण्डसँग अध्यक्ष प्रचण्डको बटमलाइन उधृत गर्दै माओवादीका एक नेताले जनताटाइम्स डटकमसँग भने, ‘ देउवाले डेढ वर्ष सरकार चलाइसकेकाले अब पहिलो चरणको प्रधानमन्त्रीमा मेरो पहिलो हक लाग्छ, यस्मा दाँयाबाँया हुन्न ।

ती नेताका अनुसार चुनावपछि कांग्रेस र प्रधानमन्त्री देउवाको ब्यवहार फेरिएको भन्दै आक्रोशसमेत पोख्नुभएको छ । भेटमा अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री र पौडेल राष्ट्रपति बन्दा शान्ति प्रक्रियाको स्पिरिट मिल्ने, सहमति कार्यान्वयन हुने र सवैलाई न्याय पनि हुने बताउनु भएको छ ।