जनता टाइम्स

१० पुष २०७९, आईतवार १६:१८

एमाले नेतृत्वको गठबन्धनमा ७ दल सहभागी : प्रचण्ड नेतृत्वको सरकार, १६६ सांसदको समर्थन


काठमाडौं, पुस १० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को नेतृत्वमा वामपन्थी बहुल सरकार बन्ने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज भएको बैठकमा साढे २ वर्षको पहिलो कार्यकालका लागि प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति जुटेको हो ।

सरकारमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी सहभागी हुनेछन । संसदमा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६ र नागरिक उन्मुक्तिका ४ सांसद छन् । यी सबै जोड्दा १६६ सीट पुग्छ ।

प्रचण्डको नेतृत्वमा सरकार गठनका लागि आजै दाबी पेश गर्ने निर्णय भएको छ । संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गर्नका लागि राष्ट्रपतिले दिएको समय आज साँझ ५ बजेसम्म छ ।

राष्ट्रपतिले दिएको समयभित्रै दावी पेश गर्ने निर्णय पनि भएको छ । प्रचण्डले विश्वासको मत लिँदा एमाले र माओवादी पृष्ठभूमिका अन्य ३ स्वतन्त्र सांसदको समेत समर्थन मिल्न सक्ने सम्भावना छ । यो सहमतिसँगै कांग्रेस सभापति नेतृत्वको सत्ता गठबन्धन टुटेको छ भने एमाले नेतृत्वको गठबन्धन बनेको छ ।