जनता टाइम्स

१२ पुष २०७९, मंगलवार १८:१५

व्याजदर घटाई समयावधि बढाउ उद्योगी व्यवसायीको माग


भैरहवा, १२ पुस । रुपन्देहीका उद्योगी व्यवसयाी आन्दोलित बनेका छन् । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर, बैंकिङ नीतिको बिरोधमा उनीहरुले भैरहवा स्थित राष्ट्र बैंक अगाडि धर्ना दिएका छन् । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको चर्को ब्याजदरविरुद्ध ब्यवसायीको छाता संगठनले अगुवाई गरी धर्ना दिएका हुन् । उद्योगी व्यवसायी बैंकको ज्यादतिका कारण प्रभावित भई उद्योगी व्यवसायी पलायन हुने अवस्था आएको छ ।

रुपन्देहीका दर्जनबढी संस्थाको अगुवाइमा शान्तिपूर्ण विरोध र्यालीसहित नेपाल राष्ट्र बैंक सिद्धार्थनगरमा धर्ना दिएको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भिष्म न्यौपानेले बताउनुभयो । संघको परिसरबाट सुरु भएको विरोध र्याली विद्रोही चोक, मिलनचोक, बैंक रोड हुदै राष्ट्र बैंक कार्यालय अगाडि धर्नामा परिणत भएको थियो ।

विभिन्न माग सहित नारावाजी गर्दै आन्दोलनमा उत्रिएका उद्योगी ब्यवसायीले राष्ट्र बैंक कार्यालय भैरहवाको मुल गेटमा धर्ना दिइ सभामा परिणत भएको थियो । राष्ट्र बैंकले अब्यवहारिक खालको ‘चालु कर्जा मार्ग निर्देशन–२०७९’ कात्तिक १ गतेदेखी लागु हुने गरी जारी गरेको छ, यसबाट ब्यवसायी आतंकित हुने परिस्थिती आएको छ ।

ब्यापार, ब्यवसायमा गिरावट आएको बेला नेपाल राष्ट्र बैंकले ब्याजदर बढाउँदा उद्योगी, ब्यवसायी मर्कामा परेको भन्दै व्यवसायीले चरणबद्ध आन्दोलन गर्न बाध्य भएका हुन् । कोरोनाका कारण समस्यामा परेका उद्योगी व्यवसायी चर्को बैंक ब्याजदरले थप समस्यामा परेको चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष अनिल कुमार ज्ञवालीले बताउनुभयो ।

‘हामीले रहरले होइन बाध्यताले आन्दोलनमा उत्रेका छौं, हाम्रो मागहरु पुरा नभएसम्म आन्दोलनको कायृक्रम निरन्तर रहने छन्,’ उहाँले भन्नुभयो । आन्दोलनको कार्यक्रम गरे पनि राज्यले सुनेको छैन । माग पुरा नभएसम्म चरणबद्ध रुपमा उद्योग बन्द गरी आन्दोलन जानरी राख्ने बताउनुभयो ।